‘काजबाट नफर्किने कर्मचारीलाई कारवाही गरिने’

  • 12 जनवरी 2016
Image caption सामान्य प्रशासन मन्त्रालयले काजबाट फर्किन कर्मचारीहरुलाई पुनः निर्देशन दिएको छ।

लामो समयदेखि काजमा रहेका कर्मचारीहरुलाई फर्किन आफूले दिएको निर्देशन पालना नभएपछि सामान्य प्रशासन मन्त्रालयले त्यस्ता कर्मचारीविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।

सुगम र आकर्षक ठानिने कार्यालयमा काजमा गएर नफर्किने लामो समयदेखिको समस्या हटाउन भन्दै मन्त्रालयले डेढ महिनाअघि फर्किन निर्देशन दिएको थियो।

प्रशासन सेवाभित्रकै डरलाग्दो विसंगति भनिंदै आएको लामो समय काजमा जाने समस्या समाधान गर्न भन्दै मन्त्रालयले नियमभन्दा बढी समयसम्म काजमा गएका कर्मचारीहरुलाई यथास्थानमा फर्किन भनेको थियो।

तर थुप्रै मन्त्रालयका कर्मचारीहरु काजबाट फर्किन नचाहेको र उनीहरुले राजनीतिक संरक्षणको आडमा काजमा बसिरहन खोजेको देखिएपछि मन्त्रालयले फिर्ता हुन सोमबार पुनः निर्दशन दिएको हो।

पहुँच

सामान्य प्रशासनमन्त्री रेखा शर्माले भनिन्, “पहुँचका आधारमा, राम्रा ठाउँहरुमा बस्ने, दुर्गम ठाउँमा नबस्ने नपठाउने जुन प्रवृत्ति छ, त्यसलाई अन्त्य गर्ने भनेर नै हामी लागेका हौँ।”

काजबाट फिर्ता हुन नचाहने कर्मचारीहरु विशेषगरी दुर्गम जिल्लाबाट फर्केकाहरु र आकर्षक मानिएका कार्यालयहरुमा बसेकाहरु छन्।

नियम अनुसार ३ महिनाभन्दा बढी समय काजमा बस्न नमिल्ने व्यवस्था छ।

त्यस विपरीत ६-७ वर्षसम्म पनि काजमा बस्ने गरेको र कतिपय कर्मचारीले आफू कुन कार्यालयअन्तर्गत रहेको भन्ने समेत बिर्सिसकेको उदाहरण समेत फेला परेको मन्त्रालयका अधिकारीहरु बताउँछन्।

निर्णय

तर अब फिर्ता नभए नियमानुसारको सजाय दिने मन्त्री शर्माले प्रतिवद्धता जनाइन्।

उनले भनिन्, “काजमा पठाउने अधिकारीले नै बगो भर्नुपर्ने भन्नेसम्मको व्यवस्था निजामती सेवा ऐनमै छ तर त्यहाँसम्म पुग्न नपरोस्, सहज र सरल तरिकाले नै यो काम होस् भन्ने हो, आवश्यक निर्णय नै लिनुपर्ने स्थिति भयो भने त लिइन्छ नै।”

यद्यपि त्यस्ता कारवाही नियम अनुसार भर्खरै मात्र काजमा गएकाहरुका लागि नभएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार पुराना र अटेर गर्ने कर्मचारीहरुलाई चाहिँ त्यस्तो कारवाही गरिनेछ।