वैशाख भूकम्पको नयाँ अध्ययन: जोखिम बढ्दो

  • 12 जनवरी 2016
तस्वीर कपीराइट Reuters

नेपालमा गत वैशाखमा गएको भूकम्पका सम्बन्धमा गरिएको पछिल्लो अध्ययनले, यो क्षेत्र भविष्यमा पनि त्यस्तै प्रकृतिको भूकम्पको जोखिममा रहेको देखाएको छ।

नेपालमा आठ हजार जनाभन्दा बढीको ज्यान जाने गरी गएको ७.८ म्याग्नीट्यूडको भूकम्प, भारतीय प्लेट मध्य एशियाली प्लेटमा धसिंदै जाने क्रममा उत्पन्न भएको हो, जस्लाई वैज्ञानिक भाषामा ‘टेक्टोनिक कोलिजन‘ भन्ने गरिन्छ।

हिमालय पर्वतमालाको दक्षिणी भेगमा जमिनका विशाल खण्डहरु एकआपसमा घर्षण हुने प्रक्रियाबाट नै ठूला कम्पनहरु उत्पन्न हुन्छन्।

‘नेचर जिओसाइन्स’ नामको एउटा जर्नलसँग कुरा गर्दै ती अनुसन्धानकर्ताहरुले भनेका छन् त्यस्तो फल्ट लाइन कोण बनाएर रोकिएको भाग नै भविष्यमा हुने भूकम्पका स्रोत हुन सक्छन्।

कम्पन

ब्रिटेनको अक्सफर्ड विश्वविद्यालयका जन एलिअट र उनका सहकर्मीहरुले युरोपको सेन्टीनल वान ए रेडार भूउपग्रह र अन्य अन्तरिक्ष यानहरुबाट तस्वीरहरुको प्रयोग गरेर, भूकम्पपछि यस क्षेत्रमा माथि उठ्न गएको भूभागको अनुसन्धान गरेका थिए।

तस्वीर कपीराइट BBC World Service

ती तस्वीरहरुले अनुसन्धानकर्ताहरुलाई जमिनमुनि निकै गहिराइको अवस्थाका बारे अनुमान गर्न सहयोग पुर्याएका थिए।

भूउपग्रहबाट प्राप्त तथ्यांकहरुको आधारमा वैज्ञानिकहरुले गरेको यो नयाँ अनुसन्धानले जमिनको सतहभन्दा ११ किलोमिटरमुनि त्यस्तो स्थान पत्ता लगाएका छन् जहाँ चट्टानहरुबीचका ‘फल्ट लाइन’ भनिने भूमिगत चिराहरु अचानक भिरालो कोण बनाएर रोकिएका छन्।

वैज्ञानिकहरुका अनुसार जमिनमुनि बनेको त्यस्तो संरचनाको विभिन्न अर्थ हुन सक्छ।

पहिलो त, त्यसबाट भूकम्पका बेला राजधानी काठमाण्डू वरपरको जमिनको सतह झण्डै एक मिटरले किन माथि उठ्न पुग्यो र उत्तरतर्फको पहाडी क्षेत्रको जमिन साठी सेन्टीमिटरले किन भासिन पुग्यो भन्ने प्रश्नको जवाफ प्राप्त भएको छ।

दोस्रो, समयक्रममा हिमालहरुको उचाइ किन विस्तारै बढ्दै गएको छ भनेर बुझ्न सकिने एउटा उदाहरण प्राप्त हुन गएको छ।

अनुसन्धान टोलीले एउटा यस्तो चक्रीय प्रक्रियाको अनुमान गरेको छ जस अनुसार ठूलो भूकम्पका बेला जमिन भासिने र निष्क्रिय अवस्थामा हिमालहरु अग्लिने हुने गर्छ।

तस्वीर कपीराइट AP

र दीर्घकालमा अन्तत: हिमालहरुको उचाइ बढ्ने नै हुन्छ।

हाल उच्च हिमालयहरुको उचाइ वर्षमा ४ मिलीमिटरका दरले बढी रहेको छ।

तनाव

गत वैशाखमा गएका भूकम्पहरु, जमिनमुनिको त्यस्तो भागमा भएको ठानिन्छ, जहाँको फल्ट लाइनमा त्यहां जम्मा भइरहेको तनाव मुक्त हुने कुनै खालको गतिविधि लामो समयसम्म भएको थिएन।

त्यस्तो भूकम्पीय चिराको पूर्वी क्षेत्रमा मात्रै २०७२ वैशाखको कम्पनले भूमिगत तनाव हटाउन सफल भएको देखिएको छ।

जसको अर्थ पश्चिमी क्षेत्रमा भविष्यमा ठूलो भूकम्प जाने सम्भावना कायमै छ।

तस्वीर कपीराइट ESA SEOM InSArap Study

दक्षिणी क्षेत्रमा पनि भूकम्पको जोखिम छ।

पछिल्लो अनुसन्धानको क्रममा प्राप्त तथ्यांकहरुको विश्लेषण गर्दा, वैशाखमा गएको भूकम्पका बेला, जमिनमुनिको ‘फल्ट’ -चिरा- पुरै सतहसम्म आएर फुटेको अर्थात ‘रप्चर ‘ हुन पाएको छैन।

त्यो फल्ट काठमाण्डूको जमिनको सतहको झण्डै ११ किलोमिटरमुनि आएर एकाएक रोकिएको छ।

काठमाण्डू

बीबीसीसँग कुरा गर्दै अक्सफर्ड विश्वविद्यालय अनुसन्धानकर्ता डा एलिअटले भने, “काठमाण्डूमुनि फल्टको आधा भाग अझै कायम छ – त्यो सतहभन्दा ११ किलोमिटर मुनि काठमाण्डूको दक्षिणतर्फ गएको छ – र त्यो अझै टुक्रिएको छैन।”

“हाम्रो अनुमान के छ भने त्यो फल्ट एकाएक रोकिनुको कारण मुख्य फल्टमा क्षति पुग्न गयो र अन्य साना फल्टहरुसँग पनि त्यो मिसिन पुग्यो। तर यस्तो अवस्था अस्थायी हुन्छ।”

उनी थप्छन्, “त्यस्ता प्रकृतिका भूकम्पहरुको समयावधि एक शताब्दीसम्मको हुने गर्छ तर अहिले जस्तो संरचना देखिएको छ, त्यो छोटो समयाअवधिमा नै सक्रिय हुन सक्छ। तर त्यस्तो कहिले हुन्छ भनेर हामी भन्न सक्दैनौं, समय तोक्न सकिंदैन।”

अक्सफर्डका यी वैज्ञानिक भन्छन्, हाल जमिनमुनि रोकिएको फल्ट (चिरा) टुक्रिएर एकै पटकमा सतहसम्म नै आइपुग्यो भने त्यसबाट गत वैशाखमा गएको जतिकै शक्तिको भूकम्प जान सक्छ।

तर कम गहिराइमा त्यस्तो भूकम्प उत्पन्न हुने हुँदा त्यसको क्षति धेरै हुनसक्छ।