सहायता सामाग्री बोकेका सवारी साधन मदायामा

  • 12 जनवरी 2016

खाद्यान्न र औषधि बोकेका ट्रकहरु सिरियाली सेनाको घेराबन्दीमा रहेको विद्रोही नियन्त्रित मदाया शहर पुगेका छन्।

विगत ६ महिनादेखि सरकारी घेराबन्दीमा रहेका ४० हजार मानिसहरुलाई रातिमा पनि सहायता सामाग्री वितरण गरिने सहायताकर्मीहरुले बताएका छन्।

सिरियाली सेनाको घेराबन्दीमा रहेका ती मानिसहरु गत अक्टोबर महिनायता कुनै सहायता बिना नै बाँचिरहेका छन्।

संयुक्त राष्ट्रसंघले भनेको छ- भोकमरीका कारण मानिसहरु मरिरहेको उसँग विश्वसनीय रिपोर्ट छन्।

भोकमरी

मदाया शहरमा सहायता सामाग्री बोकेका ट्रकहरु छिरिरहँदा उत्तरी इद्लीब प्रान्तका दुईवटा गाउँमा पनि त्यस्तै ट्रकहरु प्रवेश गरेका छन्।

द्वन्द्वरत पक्षहरुसँगको सहमतिपछि ती गाउँमा सहायता सामाग्री पुर्याइएको सहायताकर्मीहरुले बताएका छन्।

फोआह र केफ्रायाको स्थिति पनि निकै भयावह छ जहाँ गत मार्च महिनादेखि अनुमानित २० हजार मानिसहरु घेराबन्दीमा छन्।

द्वन्द्वरत दुवै पक्ष सहमत नहुञ्जेल सहायता सामाग्री बोकेका ट्रकहरु रोकिएका थिए।

सिरियास्थित राष्ट्रसंघीय मानवीय संयोजकले सहायता सामाग्री बोकेका ट्रक मदायामा सोमबार पुग्दा राष्ट्रसंघका अधिकारीहरुले भोकमरीपीडित बालबालिकालाई देखेको बताएका छन्।

याकुब एल हिलोले भने, “यसअघि नै त्यहाँबाट बाहिर आएका नराम्ररी कुपोषणग्रस्त सर्वसाधारणको तस्वीर झुटा रहेनछन्।”

दर्दनाक

मदायाका बासिन्दाले घेराबन्दीमा बस्नुपर्दा आफूले भोग्नुपरेको दर्दनाक कष्टबारे चर्चा गरेका छन्।

एक जना महिलाले भनिन्, “मैले एक जना पुरुषले बिरालोलाई मारेर आफ्ना परिवारलाई यो खरायोको मासु हो भनेर खुवाइरहेको देखेँ, कैयौँले फोहोर फ्याक्ने भाँडाहरुबाट निकालेर खाए, अनि कतिले घाँस खाए, हामीले विद्रोहीहरुलाई खाना देउ भन्यौँ तर उनीहरुले अस्वीकार गरे।”

केहीले मसला राखेर उमालेको पानी मात्रै आफ्नो परिवारलाई खुवाउन सकेको भन्दै कैयौँ दिन केही खान नपाएको उल्लेख गरे।

विद्रोहीहरुले सबै खाद्यान्न लुटेको र कल्पनै गर्न नसकिने गरी मूल्य बढाएर एक किलो चामलका लागि चार सय डलरभन्दा बढी रकम निर्धारण गरेको अर्का एक स्थानीयबासिन्दाले बताए।

सिरियाली सरकारले भोकमरीलाई युद्धको रणनीतिको रुपमा प्रयोग गरेको भन्ने आरोप अस्वीकार गरेको छ।