पोलियो केन्द्र नजिक विष्फोट, १४ को मृत्यु

  • 13 जनवरी 2016
तस्वीर कपीराइट Getty

पाकिस्तानको क्वेटामा पोलियो खोप केन्द्र नजिकै भएको शक्तिशाली बम विष्फोटमा कम्तीमा १४ जना मारिएको अधिकारीहरुले बताएका छन्।

घाइतेमध्ये अधिकांश उक्त केन्द्रको सुरक्षामा खटिएका प्रहरी भएको ठानिएको छ।

पाकिस्तानमा खोप केन्द्रहरुमा हतियारसहित सुरक्षाकर्मी परिचालन गरिनु नियमित जस्तै हो किनभने हालैका वर्षमा त्यस्ता केन्द्रहरुलाई इस्लामवादी विद्रोहीहरुले निशाना बनाउने गरेका छन्।

विद्रोहीहरुले पोलियो खोप दिनु पाकिस्तानी बालबालिकालाई नपुंसक बनाउने पश्चिमा षड्यन्त्र भएको बताउने गरेका छन्।

महामारी

पोलियोको महामारी भएका देश अफगानिस्तान र पाकिस्तान मात्रै छन्।

उक्त विष्फोट बिहानको समयमा भएको थियो जतिखेर खोप लगाउन हिड्नुअघि कमर्चारीहरुले हाजिर गर्ने तयारी गरिरहेका थिए।

तस्वीर कपीराइट AFP

बलुचिस्तान प्रान्तमा भएको सो विष्फोटमा झण्डै २० जना घाइते भएका छन्।

त्यहाँका मुख्यमन्त्री सरफराज बुग्टीले एएफपी समाचार संस्थालाई भने, “हामी युद्धभूमिमा बसिरहेका छौँ र म त्यो विष्फोटको प्रकृति बताउन सक्ने अवस्थामा छैन्।”

चिन्ता

संवाददाताहरुका अनुसार अघिल्लो वर्ष सन् २०१४ को तुलनामा पोलियो टोलीहरुमाथिको आक्रमणमा कमी आएको थियो।

त्यो वर्ष पोलियोकर्मीहरुमाथि सन् १९९९ यता सबैभन्दा बढी हमला भएको थियो।

खोप लागाउने टोलीहरुमाथि आक्रमण भएकोमा स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गर्दै आएका छन्।

पछिल्लो विष्फोट कसले गरायो भन्ने प्रष्ट भइनसकेको अधिकारीहरुले जनाएका छन्।