अमेरिकाद्वारा इरानलाई धन्यवाद

  • 13 जनवरी 2016
अमेरिकी नौसैनिक डुँगा तस्वीर कपीराइट Reuters
Image caption अमेरिकी नौसैनिक डुँगा गल्तीले इरानी जलक्षेत्रमा प्रवेश गरेको बताइएको छ

इरानको जलक्षेत्रमा गिरफ्तार गरिएका १० अमेरिकी नौसैनिकलाई इरानले छाडिदिएकोमा संयुक्त राज्य अमेरिकाले इरानलाई धन्यवाद दिएको छ।

अमेरिकाका विदेश मन्त्री जन केरीले सो घटना चाँडै समाधान भएको भन्दै आभार प्रकट गरे।

इरानको सेनाले संयुक्त राज्य अमेरिकाको पहरेदारी गर्ने जहाज इरानी जल क्षेत्रमा जानाजान नआएको स्वीकार गरेको भन्दै अमेरिकी सैनिकहरु र उनीहरुका दुईवटा जहाजलाई छोडिदिएको छ।

तदारुकता

यसै हप्ता पश्चिमा मुलुकहरुले इरानमाथि लगाएको प्रतिबन्ध हटाउन थाल्ने अपेक्षा गरिएको हुनाले तेहरानले यो मुद्दा छिटै सुल्झाउन तदारुकता देखाएको संवाददाताहरु बताउँछन्।

अनधिकृतरुपमा चरानको जलक्षेत्रमा छिरेको भनेर समातिएका १० अमेरिकी सैनिकहरुलाई इरानका सेनाले रिहा गरेको इरानी सरकारी टेलिभिजनले जनाएको थियो।

अभ्यासका क्रममा उनीहरुका दुईवटा जहाजमध्ये एउटा बिग्रिएपछि ती नाविकहरुलाई मंगलबार गिरफ्तार गरिएको संयुक्त राज्य अमेरिकाले जनाएको थियो।

इरानको सरकारी संचार माध्यमले उनीहरुलाई अन्तर्राष्ट्रिय जल क्षेत्रमा छोडिएको बताएको छ।

घटना लगत्तै अमेरिकी विदेश मन्त्री जन केरीले इरानका विदेशमन्त्री जावाद जरीफलाई टेलिफोन गरेका थिए।

पेन्टागनको एउटा वक्तव्यमा ती नौसैनिकहरु सकुशल फर्किएका र उनीहरुको जहाज कसरी इरानी क्षेत्रमा पुग्यो भनेर अनुसन्धान भइरहेको बताइएको छ।

परीक्षा

बीबीसीका संवाददाता जोनथन मार्कस भन्छन्, सुधार हुने बाटोमा रहेको इरान र वाशिंगटन बीचको सम्बन्धले शुरुको एउटा परीक्षा पार गरे जस्तो देखिएको छ।

संयुक्त राज्य अमेरिका र इरानले इरानका परमाणु सम्बन्धी गतिविधिहरुका बारेमा सम्झौता गर्न लागेको संवेदनशील समयमा यो घटना भएको हो।

परमाणु सम्बन्धी गतिविधिका कारण इरानमाथि लगाईएका प्रतिबन्धहरु फुकाउने प्रक्रिया यसै हप्ताको अन्त्यमा शुरु हुने अपेक्षा गरिएको छ।

अमेरिका र इरान दुबै देशमा यो सम्झौतालाई नरुचाउने धेरै कट्टरपन्थीहरु छन् र त्यसकारण पनि दुबै देशले यो मुद्दा सकेसम्म छिटै सुल्झाउन चाहेको ठानिएको छ।

अमेरिकामा यो सम्झौताका विरोधीहरुले अमेरिकी सैनिकहरुको गिरफ्तारीप्रति आक्रोश व्यक्त गरेका थिए।