पुनर्निर्माण प्रारम्भ हुंदै

  • 16 जनवरी 2016
earthquake
Image caption भूकम्पका कारण हजारौं निजी घर, सरकारी भवन र कयौं पुरातात्विक,ऐतिहासिक महत्वका स्थलहरुमा क्षति पुगेको छ

विनाशकारी भूकम्प गएको करिब ९ महिनापछि सरकारले शनिबार ‌औपचारिक रुपमा पुनर्निर्माणको काम सुरु गर्न लागेको छ।

महाअभियानको नाम दिइएको पुनर्निर्माणको सुरुवात ऐतिहासिक स्थल काठमाडौं रानीपोखरीमा रहेको मन्दिरको शिलान्यासबाट गरिने कार्यक्रम तय भएको छ।

त्यहां सबै दलका नेताहरुले सामूहिक रुपमा पुनर्निर्माणको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रम रहेको छ।

सम्झना

विक्रम सम्वत १९९० सालमा गएको महाभूकम्पको सम्झनामा हरेक माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइने अवसर पारेर भूकम्पपछिको पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले शनिबार आफ्ना कार्यक्रम घोषणा गर्न लागेको हो।

जसको सुरुवात भूकम्पले भत्काएको ऐतिहासिक रानीपोखरी मन्दिरबाट हुनेछ।

गत वैशाख १२ गते भूकम्प गएकै समय, दिउँसोको ११ बजेर ५६ मिनेटमा पुनर्निर्माणको महाअभियान सुरु हुन लागेको हो।

उक्त महाअभियान, राष्ट्रपति विद्या भण्डारीले भूकम्पले क्षति पुर्याएको रानीपोखरीको शिलान्यास गरेसँगै सुरु हुनेछ।

महाअभियान सुरु हुने उक्त कार्यक्रममा दलका तर्फबाट प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रम रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए।

उनले भने ,"प्रमुख राजनीतिक दलका नेताहरु सहित प्रधानमन्त्रीले सम्बोधन गरेर पुनर्निर्माण अभियानमा सबैको साझा प्रतिवद्धता जाहेर गरेर अगाडि बढ्ने कार्यक्रम रहेको छ।"

कार्ययोजना

शनिबारै सामूहिक आवास योजना कार्यक्रम सार्वजनिक गरिने र ललितपुरको बुङमतिमा निर्माण गरिने सामूहिक आवासका लागि नगरपालिका र स्थानीय बासिन्दाबीच सम्झौता गर्ने कार्यक्रम रहेको बताइएको छ।

जुन आवास निर्माणको शिलान्यास पनि सन् १९९० सालमा भूकम्प गएको समय २ बजेर २४ मिनेट पारेर प्रधानमन्त्री केपी ओलीले गर्नेछन्।

उपत्यकामा मात्रै नभई भूकम्प गएका जिल्लाहरुमा पनि शनिबारै पुनर्निर्माणका कार्यक्रम शुरु गरिने ज्ञवालीले बताए।

उनले भने,"जिल्ला जिल्लामा शहरी विकास तथा भवन विभागको डिभिजन कार्यालय लगायतबाट विकेन्द्रित रुपमा जिल्लामा अगाडि बढाउन सक्ने अवस्थामा रहेका कामलाई सुरु गर्न भनिएको छ।"

आजै नागरिक सक्रियतामा ललितपुरकै पिंलाछेँमा पनि पुनर्निर्माणको काम सुरु हुने बताइएको छ।

सरकारले सुरु गरेको पुनर्निर्माणको योजना अनुसार पहिलो तीन महिनामा पीडितको तथ्याङ्क संकलन गर्ने, निर्माणका लागि आवश्यक पर्ने जनशक्तिलाई तालिम दिने र निर्माण सामाग्रीका लागि स्रोत केन्द्र स्थापना गर्ने लगायतका कार्ययोजना तय भएको छ।