तेहरानसँगका वार्ता फलदायी: ओबामा

  • 18 जनवरी 2016
इरानमाथि प्रतिवन्धहरु तस्वीर कपीराइट .
Image caption पछिल्लो सम्झौतासंगै इरानमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिवन्धहरु फुकुवा भएका हु्न्

राष्ट्रपति ओबामाले इरानसंगको परमाणु सम्झौताको कार्यान्वयन र इरानबाट अमेरिकी बन्दीहरुको रिहाइले तेहरानबारेको आफ्नो नीति सहि भएको प्रष्ट पारेको बताएका छन्।

अब आउदा दिनमा इरानले परमाणु हतियारबाट आफूलाई अलग राख्ने कुरामा आफू विश्वस्त भएको ओबामाको भनाइ थियो।

उनले इरानको नयाँ पुस्तालाई नयाँ अवसरबाट प्रचुर फाइदा लिन अग्रसर हुन आह्वान गरे।

ओबामाले इरानसँग भएको पछिल्लो परमाणु सम्झौताको जस लिने प्रयास गर्दै आफ्नो इरान नीति सहि साबित भएको बताएका हुन्।

आह्वान

गत साताको कुटनीतिक सक्रियताको फलस्वरुपमा इरानको परमाणु कार्यक्रमलाई लिएर उस माथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिवन्धहरु फुकुवा भएपछि ओबामा सप्ताहअन्तमा बोल्दै थिए।

उनले पछिल्लो घटनाक्रमलाई त्यती नरुचाएको देखिने इरानी युवाहरुलाई नयाँ परिस्थितिबाट फाइदा लिन आह्वान गरे।

“अब इरानका जनता सामु आफ्ना लागि र समस्त विश्वका लागि प्रगति हासिल गर्ने एउटा फरक र अझै राम्रो भविष्य निर्माण गर्ने अवसर छ।”

तर इरानसँग भएको सम्झौतालाई इजरेल र अमेरिकाकै रिपब्लिकन नेताहरुले रुचाएका छैनन् र उनीहरुले त्यसको आलोचना गरेका छन्।

यसैबीच इरानले मुक्त गरेका तीन अमेरिकी बन्दीहरु जर्मनीस्थित अमेरिकी सैन्य शिविरमा पुगेका विवरणहरु प्राप्त भएका छ्न्।