'विश्वका एकप्रतिशतसंग सबैभन्दा धेरै धन'

  • 18 जनवरी 2016
तस्वीर कपीराइट Getty

सहायता तथा विकास सम्बन्धी एउटा परोपकारी संस्था अक्सफ्यामले भनेको छ, विश्व जनसंख्याको एक प्रतिशत धनीहरुको स्वामित्वमा यो धर्तीमा बांकी सबै मानिसहरुको समग्र सम्पत्ति भन्दा बढी धन रहेको छ।

अक्सफ्यामले प्रकाशित गरेको विश्वमा विद्यमान असमानताको अवस्था बारेको प्रतिवेदन तयार पार्न क्रेडिट स्वीस कम्पनीबाट प्राप्त गत अक्टोबर महिनाको तथ्यांकको प्रयोग गरिएको छ।

सो संस्थाले आगामी हप्ता डाभोसमा बैठक गर्न लागेका विश्व नेताहरुलाई यस्तो विश्वव्यापी असमानताको समस्या हल गर्न आग्रह गरेको छ।

सम्पत्ति

विश्वव्यापी असमनता सम्बन्धी अक्सफ्यामको पछिल्लो प्रतिवेदनले अनुमान गरे अनुसार संसारका सबैभन्दा धनी ६२ जनाको धनसम्पत्त‌ि विश्वव्यापी जनसंख्याको आधाजसो मानिसहरु अर्थात तीन दशमलव ६ अर्ब गरीब मानिसहरुको संयुक्त सम्पत्ति बराबर नै छ।

६८ हजार आठसय डलर नगद र सम्पत्त‌ि भएमा विश्वका धनी १० प्रतिशत भित्र पर्न सकिन्छ भने ७ लाख ६० हजार डलर भएमा धनी १ प्रतिशत भित्र परिन्छ।

अक्सफ्यामको प्रतिवेदनले भनेको छ, सबै मानिसको र भावी पुस्ताको पनि समृद्धिका लागि काम गर्ने अर्थतन्त्रको साटो हामीले विश्वका १ प्रतिशत धनाढ्यकाहरुका लागि काम गर्ने अर्थतन्त्रको सिर्जना गर्न पुगेका छौं।

कारवाही

उक्त परोपकारी संस्थाले विश्वका धनाढ्य मानिसहरुले ७५ खर्ब डलर देश बाहिर कर नलाग्ने स्थानहरुमा लुकाएर राखेका भन्दै कर छल्नेहरु विरुद्ध कारवाही गर्न संसारका सरकारहरुलाई आग्रह गरेको छ।

त्यस्तो रकममध्ये पांचसय अर्ब डलर धनी अफ्रीकीहरुको रहेको सो संस्थाको भनाइ छ, जसले गर्दा सो महादेशले बर्षेनी १४ अर्ब डलर बराबरको राजस्व गुमाइरहेको ठानिएको छ।