नाशिद उपचारका लागि ब्रिटेनतर्फ

  • 19 जनवरी 2016
माल्दिभ्सका राष्ट्रपति यमीन तस्वीर कपीराइट ap
Image caption स्वदेश फर्काउनेबारे नाशिदका भाइले जिम्मेवारी लिएपछि सरकारले उनलाई विदेश जान अनुमति दिएको हो।

माल्दिभ्सका विपक्षी दलका नेता एवं पूर्व राष्ट्रपति मोहम्मद नाशिद ढाडको शल्यक्रिया गर्नका लागि ब्रिटेनतर्फ लागेका छन्।

उनको दलको भनाईमा सरकारले अघि सारेको नयाँ शर्तका कारण नासिदको ब्रिटेन यात्रा शुरु हुन थप ढिलाई भएको थियो।

उनलाई गत वर्ष आतंकवादविरोधी कानुनको अवज्ञा गरेको अभियोगमा १३ वर्षको कैद सजाय सुनाइएको थियो।

माल्दिभ्सको सरकारले भनेको छ नाशिदले उपचार सकिएपछि आफ्नै देश फर्कन एक कागजमा हस्ताक्षर गरेका छन्।

जिम्मेवारी

सरकारको भनाइमा नाशिदका भाइले उनलाई स्वदेश फर्काउने सम्बन्धमा जिम्मेवारी लिने भएका छन्।

अन्तर्राष्ट्रिय समुदायका दबाबका माझ माल्दिभ्स सरकार गत शनिबार मात्र नाशिदलाई उपचारको निम्ति विदेश जान अनुमति दिन राजी भएको थियो।

नाशिदका वकिलका अनुसार उनको अनुपस्थितिमा उनको परिवारको कोही सदस्य राजधानी मालेमा रहनुपर्ने शर्त सरकारले राखेको थियो।

एएफपी समाचार संस्थाका अनुसार नाशिद मालेबाट कोलम्बो हुँदै ब्रिटेनतर्फ जाँदैछन्।

विगत

पूर्व मानवअधिकार अभियन्ता नाशिद सन् २००८ मा ३० वर्ष शासन गरेका मौमून अब्दुल गयूमलाई हराउँदै राष्ट्रपति चुनिएका थिए।

उनलाई सन् २०१२ मा एक न्यायाधीशलाई पक्रन आदेश दिएको अभियोगमा थुनिएको थियो।

पछि सैन्य विद्रोहमाझ उनी सत्ताच्यूत गरिए।

वर्तमान राष्ट्रपति अब्दुल्ला यमीन पूर्व राष्ट्रपति गयूमका भाइ हुन्।