भारतमा विद्यार्थी आत्महत्याको विरोध

  • 19 जनवरी 2016
रोहित वेमुला तस्वीर कपीराइट ROHITH VEMULA FACEBOOK PAGE

भारतको हैदराबादमा एकजना विद्यार्थीको आत्महत्या पछि भारतका मुख्य शहरका विभिन्न विश्वविद्यालयमा हजारौं विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।

तल्लो जात भनिने समुदायका ती विद्यार्थी रोहित वेमुलाले जातीय वेदभावका कारण आत्महत्या गरेको प्रदर्शनकर्ताहरुको विश्वास छ।

झुण्डिएर आत्महत्या गरेका वेमुलाले “मेरो जन्म एउटा घातक गल्ती हो” भनेर लेखिएको एउटा चिठि छोडेका थिए ।

वेमुला र अरु चारजना तल्लो जात भनिने समुदायका व्यक्तिको सत्ताधारी हिन्दु राष्ट्रवादी पार्टीका समर्थकसंग झडप भएको आरोपमा एकजना संघीय मन्त्रीले ती विद्यार्थीलाई सजाय दिन माग गरेका थिए।

मन्त्रीको त्यस्तो माग अन्यायपूर्ण रहेको प्रदर्शनकर्ताको भनाई छ। प्रहरीले ती मन्त्रीका विरुद्ध उजुरी दर्ता गरिसकेको छ।

आत्महत्या

रोहित वेमुलाले गत आइतबार हैदराबाद सेन्ट्रल युनिभर्सिटिमा आत्महत्या गरेका थिए।

तस्वीर कपीराइट

वेमुलाका साथीहरुले विश्वविद्यालयका प्रमुख पदाधिकारीहरु र एकजना संघीय मन्त्रीलाई वेमुलाको मृत्युको जिम्मेवार ठहर्याएका छन्।

विश्वविद्यालयको छात्रावासबाट निष्काशन गरिएकोमा विरोध गर्ने ५ जना दलित विद्यार्थी मध्ये वेमुला एक थिए।

वेमुलाका साथीहरुले विश्वविद्यालयका प्रमुख पदाधिकारीहरुका साथै संघीय मन्त्री बंडारु दत्तात्रयलाई कारवाही गरिनुपर्ने माग गरेका छन्।

दत्तात्रयमाथि विश्वविद्यालयलाई दलित विद्यार्थी विरद्ध कारवाही गर्न दबाव दिएको आरोप लगाईएको छ।

प्रदर्शन

यो घटनाको विरोधमा दिल्ली र मुम्बाईका विद्यार्थीहरुले पनि प्रदर्शन गरेका छन्।

तस्वीर कपीराइट PTI

वेमुलाको मृत्युमा दत्तत्रय र विश्वविद्यालयका पदाधिकारीहरुको भूमिकाका बारेमा अनुसन्धान भईरहेको हैदरबादको प्रहरीले जनाएको छ।

संघीय सरकारले एउटा छानबिन टोली सो विश्वविद्यालयमा पठाएको बताएको छ।

कांग्रेस पार्टीका उपाध्यक्ष राहुल गांधी पनि प्रदर्शनकारी विद्यार्थीहरुलाई भेट्न हैदराबाद पुगेका छन्।

वेमुला र उनका साथीहरुलाई गत वर्ष भारतीय जनता पार्टीको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषदको एकजना सदस्यलाई हमला गरेको आरोप लागेको थियो।

उनीहरुले सो आरोपको खण्डन गरेका थिए।

निर्दोष

प्राम्भिक अनुसन्धानमा विश्वविद्यालयले उनीहरुलाई निर्दोष मानेको थियो।

तर गत डिसेम्बर महिनामा भने विश्वविद्यालयले आफ्नो निर्णय उल्ट्याएको एनडिटिभी टेलिभिजन च्यानलले बताएको छ।

भारतीय जनता पार्टीका सदस्य ति मन्त्री दत्तात्रयले सो घटनाको बारेमा गुनासो गर्दै संघीय मानव संसाधन मन्त्रालयलाई चिठी लेखेपछि ती विद्यार्थीलाई विश्वविद्यालयबाट निष्काशन गरिएको प्रदर्शनकर्ताहरुको भनाई छ।

तस्वीर कपीराइट PTI

त्यसपछि ती ५ जना विद्यार्थीलाई विश्वविद्यालयका आवास लगायत अरु सुविधाहरु प्रयोग गर्नबाट निषेध गरिएको थियो।

प्रदर्शनकर्ताहरुले यसलाई सामाजिक बहिष्कार भनेका छन्।

तर मन्त्री दत्तात्रयले आफुले लेखेको चिठी ती दलित विद्यार्थीको बारेमा नभएको बताएका छन्।

केही असामाजिक तत्वहरुले विश्वविद्यालयको शान्ति खल्बल्याएपछि त्यसको बारेमा आफुले चिठी लेखेको र वेमुलाको मृत्युसंग भारतीय जनता पार्टीको कुनै सरोकार नभएको उनले बताएका छन्।