'लित्भिनेन्कोसम्बन्धी ब्रिटीश निचोड वाहियात'

  • 22 जनवरी 2016
putin तस्वीर कपीराइट AP
Image caption लित्भिनेन्कोको हत्याका लागि राष्ट्रपति भ्लादिमिर पुटिनले अनुमति दिएको ब्रिटीश निष्कर्ष छ

पूर्व रुसी गुप्तचर अलेक्साण्डर लित्भिनेन्को लण्डनमा मारिएको घटनामा संलग्न ठानिएका प्रमुख संदिग्धमध्येका एक जनाले दश वर्षअघि विष खुवाएर भएको उक्त हत्यासंग आफ्नो कुनै सरोकार नरहेको बताएका छन्।

लित्भिनेन्कोको हत्या गर्न स्वयम् रुसी राष्ट्रपतिले अनुमति दिएको हुनसक्ने निचोड एउटा ब्रिटीश अनुसन्धानले निकालेपछि ती संदिग्धको पछिल्लो प्रतिक्रिया आएको हो।

लित्भिनेन्को रुसबाट भागेर ब्रिटीश गुप्तचर निकायका लागि काम गरिरहेका थिए जहां उनको, सन् २००६ मा पोलोनियम नामक रेडियोधर्मी पदार्थको प्रयोगबाट हत्या गरिएको थियो।

‘षड्यन्त्र’

लित्भिनेन्कोको मृत्युको कारण पोलोनियम नामक रेडियोधर्मी पदार्थ रहेको बताइएको छ जुन उनको चियाराख्ने भाडोमा भेटिएको थियो।

रुसी गुप्तचर निकायको निर्देशनमा दुई जना मानिसले उक्त काम गरेको ठानिएको छ।

तिनैमध्येका एक आन्द्रेइ लुगोभोइले त्यसमा आफ्नो संलग्नता अस्वीकार गर्दै पछिल्लो ब्रिटीश अनुसन्धानलाई वाहियात भनेका छन्।

उनले बरु त्यसमा ब्रिटीश गुप्तचर निकायकै संलग्नता रहेको आरोप लगाए।

उनले भने, “मैले तपाईका न्यायाधीशको वाहियात निष्कर्षहरु हेरेको छु र मलाई लाग्छ उनी प्रष्ट रुपमा बहुलाएका छन्। दशवर्षपछि पनि केही नयां कुरा दिइएको छैन। केवल अनुमान, हल्लामात्रै प्रस्तुत गरिएका छन्”।

उनले चन्द्रमा बरु पृथ्वीको भाग बन्ने सक्ने तर रुसबाट ब्रिटेनमा उनको सुपुर्दगी सम्भव नरहेको टिप्पणी गरे।

सम्बन्ध

ब्रिटीश अनुसन्धानले लित्भिनेन्कोको हत्याका लागि रुसी राष्ट्रपति स्वयमले अनुमति दिएको हुनसक्ने निचोड निकालेको छ।

रुसबाट भागेर ब्रिटीश गुप्तचर निकायमा काम गरेका लित्भिनेन्कोको हत्यालाई ब्रिटेनकी गृहमन्त्री टिरिजा मेले अन्तर्राष्ट्रिय कानुनको अस्वीकार्य उल्लंघन भनेकी छन्।

तर रुसी विदेशमन्त्रालयले ब्रिटीश अनुसन्धान राजनीतिकरण गरिएको बताएको छ।

उसले विशुद्ध फौजदारी मुद्दालाई राजनीतिकरण गरिएको र त्यसले दुईपक्षीय सम्बन्धमा नकरात्मक असर पार्ने बताएको छ।

रुसी अधिकारीहरुले ब्रिटीश अनुसन्धानले पत्ता लगाएको भनिएका विषयहरु भयंकर उत्तेजना भनेका छन्।

रुसमा इन्टरनेटका सामाजिक सञ्जालहरुमा पनि ब्रिटीश अनुसन्धानप्रति कटु टिप्पणीहरु भएका छन्।

‘पुटिनले शायद अनुमोदन गरे’ भन्ने व्यंग्यात्मक ह्यासट्याग ट्वीटरमा निकै चर्चित भएको छ।

त्यसमा इसाइहरुको पुरातनपन्थी धार संरक्षण गर्नका लागि १५औ शताब्दीमा स्थापित एउटा स्पेनी न्यायाधिकरणदेखि लिएर डाइनोसरको मृत्युसम्ममा पुटिनको हात रहेको भन्दै व्यंग्य गरिएको छ।