डुंगा डुब्दा ४० बढी आप्रवासीको मृत्यु

  • 22 जनवरी 2016
तस्वीर कपीराइट AP

आप्रवासीहरु सवार दुईवटा डुंगाहरु ग्रीसका दुई टापु नजिकै अत्यन्त चिसो पानीमा दुर्घटनाग्रस्त भएका हुन्।।

एउटा डुंगा कालोलिम्नोस नामक सानो ग्रीक टापु नजिकै डुबेको थियो, जसमा ११ बालबालिका सहित ३४ जनाको ज्यान गएको थियो।

अर्को टापु फार्माकोनिसी नजिकै दोस्रो डुंगा डुबेपछि अन्य ८ जनाको मृत्यु भएको थियो।

डुंगा दुर्घटनामा परेर मृत्यु हुनेहरुको संख्या ४२ पुगेको जानकारी प्राप्त भएको छ।

गत वर्ष दस लाख भन्दा बढी आप्रवासीहरु युरोप पुगेका थिए।

जुन प्रयासमा टर्कीबाट ग्रीस जाने क्रममा एजियन समुद्रमा ७ सय भन्दा बढीको ज्यान गएको थियो।

वैठक

आप्रवासी संकटका बारे जर्मनी र टर्कीका सरकारले बर्लिनमा संयुक्त क्याबिनेट बैठक बस्दै छन्।

जर्मन चान्सेलर एंगेला मर्केलले यो संकटका बारेमा वार्ता गर्न शुक्रबार टर्कीका प्रधानमन्त्री आहमेत दावोतोग्लुलाई बर्लिनमा भेट्दै छिन्।

उनले पैसा र अरु सुविधाका सट्टामा टर्कीले आफ्नो सीमा सुरक्षा अझ मजबुत पार्ने अपेक्षा गरेकी छिन्।

दुबै देशका क्याबिनेटका मन्त्री पनि बैठकमा उपस्थित हुनेछन्।

बिहीबार फ्रान्सका प्रधानमन्त्री म्यानुएल भाल्सले आप्रवासी संकटले युरोपेली संघलाई गम्भीर जोखिममा पारेको चेतावनी दिएका थिए।