अमेरिकामा भीषण हिउँआँधी, करोडौं प्रभावित

हिउँ आँधीका कारण अमेरिकाका कैयौं राज्यमा संकटकाल घोषणा गरिएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

हिउँ आँधीका कारण अमेरिकाका कैयौं राज्यमा संकटकाल घोषणा गरिएको छ

संयुक्त राज्य अमेरिकाको पूर्वी तटीय क्षेत्रमा एक शताब्दीकै सबभन्दा ठूलो मध्ये एक हिउँ आँधी आउँदा कैयौं राज्यमा जनजीवन ठप्प भएको छ।

राजधानी वाशिङटन डीसीमा आधा मिटर बाक्लो हिउँ परेको छ।

अधिकारीहरुले नागरिकहरुलाई घरभित्रै बस्न भनेपछि सडकहरु निर्जन भएका छन्।

आँधी आइतबार विहानदेखि समाप्त हुने ठानिएको छ।

सतर्क

हिउँ आँधी उत्तरतर्फ सर्दै जाँदा एक दर्जन भन्दा बढी राज्यका पाँच करोड भन्दा बढी मानिसहरुलाई घर भित्रै बस्न सतर्क गराइएको छ।

तस्बिर स्रोत, epa

तस्बिरको क्याप्शन,

मानिसहरुलाई आईतबार आँधी समाप्त नभएसम्म घरमै बस्न भनिएको छ

देशको राजधानी वाशिङटन डीसीमा आइतबार आँधी रोकिनु अघि तीस इन्च हिउँ पर्ने अनुमान गरिएको छ।

कम्तीमा नौ जना मारिएका छन् र दशवटा राज्यमा संकटकाल घोषणा गरिएको छ। यातायात सेवाहरु रद्द गरिएका छन् । घरहरुमा बिजुली छैन।

दक्षिणी राज्य अर्कान्ससदेखि उत्तरपूर्वी मासाचुसेट्ससम्मका राज्यहरु कठोर मौसमबाट प्रभावित भएका छन्।

शुक्रबार हिउँ पर्नु अघि नै सुपरमार्केटमा खानेकुरा किन्नेहरुको भीडका कारण खाद्यान्न अभाव हुन थालिसकेको थियो।

रेकर्ड

अमेरिकी संघीय सरकारको कार्यालय शुक्रबार मध्यान्हमै बन्द भएको थियो।

वाशिङटनका मेयरले जीवन मरणको अवस्था आइलाग्नेगरी आँधी आएको चेतावनी दिए।

राष्ट्रिय मौसम सेवा एनडब्लुएसले वाशिङटन क्षेत्रमा र वरपर सबभन्दा बढी हिउँ पर्ने जनाएको छ।

राजधानी वाशिङटन, भर्जिनिया, मेरिल्याण्डमा मानिसहरुलाई भनिएको छ: सन् १९२२ मा दुई दिनको समय अवधिमा २८ इञ्च हिउँ परेको रेकर्ड यसपटक तोडिन सक्छ।

सडकहरु, रेष्टुरेन्ट, बार र सुपरमार्केटहरु बन्द छन्।