‘जिका भाइरस नियन्त्रणभन्दा बाहिर जान सक्ने’

  • 23 जनवरी 2016
तस्वीर कपीराइट AP

ब्रजिलका स्वास्थ्य अधिकारीहरुले लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरस नियन्त्रणभन्दा बाहिर जान सक्ने चिन्ता भएको बताएका छन्।

नवजात शिशुहरुमा पछिल्लोपटक तीव्र रुपमा बढेको देखिएको स्वास्थ्यसम्बन्धी जटिलतासँग जिका भाइरसलाई जोडिएको छ।

बीबीसी अमेरिकी क्षेत्रकी सम्पादक क्यान्डस पियटका अनुसार अनुसन्धानकर्ताहरुले अनपेक्षित रुझिलो मौसम र आर्थिक संकटका कारण कमजोर बनेको जनस्वास्थ्य सेवाका कारण जिका भाइरसको समस्या प्रकोपको तहसम्म पुगेको बताएका छन्।

हजारौं नवजात शिशुहरुमा जटिलता देखिएका छन् र स्वास्थ्य अधिकारीहरु यो समस्याविरुद्ध संघर्ष गरिरहेका छन्।

प्रकोप

अमेरिकी अधिकारीहरुले दक्षिणी अमेरिकी महादेशका २० वटाभन्दा मुलुकहरु र त्यसबाहेकका अन्य केही देशमा भ्रमण नगर्न गर्भवती महिलाहरुलाई भनेका छन्।

विश्व स्वास्थ्य संगठनले अफ्रिका एसिया र प्रशान्त क्षेत्रका करिब १० वटा मुलुकमा जिकाको प्रकोप रहेको जनाएको छ।

तस्वीर कपीराइट AP

यसै वर्ष रियो दि जेनेरोमा हुने ओलम्पिक्स खेलकुदअघि जिका भाइरसलाई लिएर चिन्ता बढ्न थालेको छ।

अधिकारीहरुका अनुसार गत अक्टोबरयता जन्मिएका साना टाउको भएको बच्चाहरुको संख्या करिब ४ हजार पुगेको छ।

फोहोर पानीमा लामखुट्टेको विकास हुने भएकोले ब्रजिलमा जनचेतना ल्याउने बृहत् अभियानमार्फत पानी जम्न नदिन आमनागरिकलाई आग्रह गरिँदैछ।

गर्भधारण

खोप पत्ता लगाउनका रकम खर्च गरिँदैछ।

सन् २०१४ मा भएको विश्वकपको दौरान जिका भाइरस ब्रजिल प्रवेश गरेको हुन सक्ने बताइएको छ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार अफ्रिका, एसिया र प्रशान्त क्षेत्रका करिब १० वटा मुलुकमा जिका भाइरसको प्रकोप देखिएको छ।

कोलम्बियामा १३ हजार ५ सय जनामा उक्त भाइरसको समस्या देखिएको छ र गर्भधारणाको सोच बनाएका दम्पतीहरुलाई योजना पर सार्न त्यहाँको स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।