प्रायोजन सम्झौता अन्त्य गर्ने तयारीमा अडिडास

  • 25 जनवरी 2016
तस्वीर कपीराइट Getty

अन्तर्राष्ट्रिय एथ्लेटिक्सको केन्द्रीय निकाय आइएएएफको सबैभन्दा ठूलो प्रायोजक कम्पनी अडिडासले करोडौं डलर बराबरको प्रायोजन सम्झौता निर्धारित समयभन्दा तीन वर्षअघि नै अन्त्य गर्न लागेको बीबीसीले जानकारी पाएको छ।

प्रतिबन्धित औषधि सेवन प्रकरणलाई लिएर खेलकुदमा प्रयोग हुने पोशाक उत्पादन गर्ने अडिडासले उक्त निर्णय गरेको बुझिएको छ।

प्रतिबन्धित औषधि सेवन प्रकरणकै प्रत्यक्ष कारणले अडिडासले प्रायोजन सम्झौता अन्त्य गर्ने निर्णयबारे यसै साताको शुरुतिर आइएएएफलाई जानकारी गराएको बताइएको छ।

११ वर्षसम्मका लागि गरिएको प्रायोजन सम्झौता सन् २०१९ मा समाप्त हुनेथियो।

निष्कर्ष

तर रुसी खेलाडीहरुले राज्यकै प्रायोजनमा प्रतिबन्धित औषधि सेवन गरेको आरोपसम्बन्धी एउटा अध्ययनको निष्कर्षलाई आइएएएफले ढाकछोप गरेको खबरमाझ अडिडास उक्त निर्णयमा पुगेको बताइएको छ।

प्रतिबन्धित औषधिको प्रयोग नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय निकाय वाडाको स्वतन्त्र आयोगले आफ्नो पहिलो अध्ययन प्रतिवेदन बुझाएपछि अडिडासले प्रायोजन सम्झौता अन्त्य गर्न विचार गरिरहेकोबारे आइएएएफलाई गत नोभेम्बरमा जानकारी गराएको थियो।

तस्वीर कपीराइट EPA
Image caption संघर्षरत वर्तमान अध्यक्ष सेबास्टियन कोका लागि अडिडासको निर्णय ठूलो झटका हुने बताइएको छ।

स्रोतहरुले बीबीसीलाई बताएअनुसार अडिडासको उक्त निर्णयका कारण आइएएएफले दशौँ लाख डलर आम्दानी हुने स्रोत गुमाउनेछ।

र, निश्चित रुपमा संघर्षरत वर्तमान अध्यक्ष सेबास्टियन कोका लागि यो एउटा ठूलो झटका हुनेछ।

भ्रष्टाचार

अडिडास र आइएएए, कसैले पनि यसबारे प्रतिक्रिया दिएका छैनन्।

वाडाको स्वतन्त्र आयोगले यसै महिनाको शुरुतिर बुझाएको दोस्रो प्रतिवेदनले आइएएएफका पूर्वअध्यक्ष लामिन डियाकको कार्यकालमा सो संस्थाभित्र व्यापक भ्रष्टाचार भएको उल्लेख गरेको थियो।

त्यसको केही दिनभित्रै अडिडासको उच्च तहमा प्रायोजन सम्झौता अन्त्य गर्ने निर्णय लिइएको थियो।

सन् २००८ मा अडिडास र आइएएएफबीच प्रायोजनसम्बन्धी ११ वर्षे सम्झौता भएको थियो।