‘टेनिसमा भ्रष्टाचार नियन्त्रणबारे समीक्षा गरिने’

  • 27 जनवरी 2016
तस्वीर कपीराइट EPA

खेल मिलेमतोका दाबीमाझ टेनिससम्बन्धी विश्व निकायका अधिकारीहरुले भ्रष्टाचार नियन्त्रणका कदमहरुबारे स्वतन्त्र समीक्षा गरिने बताएका छन्।

पछिल्लो दशकमा गैरकानुनी रुपमा टेनिसमा बाजी थापिने गरेको बीबीसी र बजफिड न्यूजको एउटा अनुसन्धानले देखाएपछि अष्ट्रेलियन ओपनका क्रममा समीक्षा गर्ने घोषणा गरिएको हो।

विश्व वरियताक्रममा उत्कृष्ट ५० को सूचीमा परेका १६ जना खेलाडीले पटक-पटक खेल मिलेमतो गरेको हुन सक्ने आशंकासहितका उजुरी नियामक निकाय द टेनिस इन्टिग्रेटी युनिटमा परेको खबरहरु सञ्चारमाध्यममा आएका थिए।

तर ग्राण्ड स्लाम उपाधि विजेतासहितका ती सबै खेलाडीहरुलाई प्रतियोगितामा सहभागी हुन अनुमति दिइएको थियो।

समीक्षा

अन्तर्राष्ट्रिय टेनिस महासंघ र चारवटै ग्राण्ड स्लामका प्रमुखहरुसहितले जारी गरेको विज्ञप्तिमा भनिएको छ- यो खेलको मूल्य मान्यतालाई थप जोगाइराख्नेमा समीक्षा केन्द्रित हुनेछ।

उनीहरुले खेलकुद मिलेमतोलाई फौजदारी अपराधमा सामेल गर्न समेत विश्वका सबै सरकारहरुलाई आग्रह समेत गरेका छन्।

विमबल्डनका अध्यक्ष र टेनिस इन्टिग्रेटी बोर्डका प्रमुख फिलिप ब्रुकले भनेका छन्- “यो एउटा महत्वपूर्ण निर्णय हो र टेनिसको नेतृत्वलाई हाम्रो पूर्ण समर्थन छ, हाम्रो खेलकुदबाट भ्रष्टाचार हटाउनका निम्ति हामी जेसुकै गर्न दृढ छौँ।”

सुधार

तस्वीर कपीराइट EPA

मेलबर्नस्थित बीबीसीका एकजना संवाददाताका अनुसार स्वतन्त्र समितिले टेनिसमा भ्रष्टाचार नियन्त्रणका विद्यमान कार्यक्रमहरुको समीक्षा गर्नेछ र सुधारका उपायहरु सुझाउनेछ।

टेनिसको गोपनीयतामा सम्झौता नगरी टेनिससम्बन्धी विश्व निकायलाई कसरी अझ बढी पारदर्शी बनाउन सकिन्छ भन्ने विषयमा समेत सुझाव पेस गर्न उक्त समितिलाई भनिएको छ।

यसैगरी उक्त समितिले टेनिसका मूल्य मान्यतासम्बन्धी कार्यक्रमको क्षेत्राधिकार र पहुँचलाई थप बढाउन आवश्यक रहे वा नरहेकोबारे पनि सुझाव दिनेछ।

खेल कानुनसम्बन्धी ब्रिटिश विज्ञको नेतृत्वमा गरिने उक्त अनुसन्धान गरिने बताइएको छ।