विश्व स्वास्थ्य संगठनको आपत्कालीन बैठक

  • 28 जनवरी 2016
Image caption विश्व स्वास्थ्य संगठन प्रमुख मार्गरेच टानले जिका भाइरस संक्रमणलाई भयानक खतरा भनेकी छन्

विश्व स्वास्थ्य संगठनले, अविकसित मष्तिष्कका साथ बालबालिका जन्मने कारण बनेको जीका भाइरस विस्फोटक रुपमा फैलन लागेको अवस्थाका बारे छलफल गर्न सोमबार जिनीभामा आपत्कालीन बैठक डाकेको छ।

विश्व स्वास्थ्य संगठनकी प्रमुख मार्गरेट चानले भनेकी छन्- लामखुट्टेबाट सर्ने उक्त भाइरस अमेरिकी महादेशहरुका २३ वटा देशहरुमा देखा परेको छ र त्यहाँ चिन्ताको अवस्था एकदमै उच्च रहेको छ।

जिका नामको भाईरस अत्यधिक रुपमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले एउटा आपत्कालीन टोली गठन गरेको छ।

जिका भाईरसलाई ब्राजिलमा हजारौं शिशुहरु सानो मस्तिष्कका साथ जन्मिनुको कारकका रुपमा लिइएको छ।

हृदयविदारक

विश्व स्वास्थ्य संगठनकी महानिर्देशक मार्गरेट चानले जिका भाईरस एउटा मध्यम खालको खतराबाट भयानक खतरामा परिणत भएको भन्दै त्यस्तो अवस्थालाई हृदयविदारक भनेकी छन्।

विश्व स्वास्थ्य संगठनको आपतकालीन टोलीले सोमबार भेटेर जिका भाइरसको संक्रमणलाई पनि इबोलालाई जस्तै विश्वव्यापी खतराका रुपमा परिभाषित गर्नु पर्छ की पर्दैन भन्ने निर्णय गर्नेछ।

सन् १९४७ मा युगाण्डामा पहिलो पटक जीका भाइरस फेला परेको थियो तर त्यसबाट हालको जस्तो स्तरमा महामारी फैलिएको थिएन।

दक्षिण अमेरिकामा भने जिका भाइरस संक्रमणको पहिलो घटना ब्राजिलले सन २०१५ मा उल्लेख गरेको थियो।

ब्राजिलमा १५ लाख मानिसहरु सो भाईरसबाट संक्रमित भएको विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ।

चिन्ता

त्यो समय यता उक्त भाईरस दक्षिण अमेरिकाका २० भन्दा बढि देशहरुमा फैलिसकेको छ।

महानिर्देशक चानले भनिन्- “यसबारेमा चिन्ता र अनिश्चितताहरु धेरै छन्। प्रश्नहरु पनि धेरै छन, र हामीलाई छिटै जवाफ चाहिएको छ। यी सबै कारणहरुले गर्दा मैलै आपतकालीन समिति गठन गर्ने निर्णय गरेकी हुँ।"

यसबारेमा अन्तर्राष्ट्रिय जगतले कति चिन्ता गर्नुपर्ने हो र प्रभावित देशहरु र अरु देशहरुले के कस्ता कदम चाल्नुपर्ने हो भन्ने बारेमा त्यो समितिसँग सुझाव माग्ने उनले बताएकी छिन्।