सिरिया शान्तिवार्तामा सहभागीताको अन्योल

  • 29 जनवरी 2016
तस्वीर कपीराइट AP

सिरियामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको तत्वावधानमा हुन लागेको शान्तिवार्ता केहि घण्टाभित्रै आरम्भ हुन लाग्दा, त्यसमा सहभागी हुनेहरुका बारे अझै अन्योल कायम छ।

वार्तास्थल स्वीट्जरल्याण्डको जिनीभामा सरकारी प्रतिनिधि मण्डल पुगेको छ।

र एक जना बरिष्ठ विपक्षी नेताले राष्ट्रपति बशर अल असदको विरोध गर्ने थुप्रै समूहका नेताहरु पनि वार्ताका लागि आउंदै गरेका बताएका छन्।

विपक्षी समूहहरु सहभागी हुन्छन् की हुंदैनन् भन्ने अन्योलका साथ जिनीभामा सिरियासम्बन्धी शान्तिवार्ता आरम्भ हुन लागेको छ।

माग

केहि विपक्षी समूहहरुले वार्तामा बस्नु अघि सरकारी सैन्यबाट हुने हवाई हमला र घेराबन्दी अन्त्य हुनु पर्ने माग गर्दै आएका थिए।

संयुक्त राष्ट्र संघका दूत स्टेफान डु मिस्टुराले भनेका छन् उनले सिरियाली सरकारको प्रतिनिधि मण्डलसंग भेटघाट गरेर वार्ता आरम्भ गर्ने छन्।

तस्वीर कपीराइट Getty

उनको कार्यालयले जनाएअनुसार उनले वार्ताका अन्य सहभागीहरुसंग पनि बैठक गर्नेछन्, साथै नागरिक समाजका प्रतिनिधिहरुसंग पनि उनको भेट हुनेछ।

सिरियामा जारी युद्धका क्रममा गत पांच बर्षमा दुईलाख पचास हजार भन्दा बढी मानिसहरुको ज्यान गैसकेको छ।

बाध्य

राष्ट्रपति बशर अल असद प्रति बफादार सैन्य र उनको शासनको विरोध गर्नेहरुबीचको लडाईंका क्रममा अन्य एककरोड दशलाख भन्दा बढी मानिसहरु आआफ्नो घर छाडी भाग्न बाध्य हुनु परेको छ।

द्वन्द्वमा इस्लामिक स्टेट भनिने जीहादी समूहका उग्रवादीहरु पनि समावेश भएका छन्।

विहीबार सिरियाली जनतालाई सम्बोधन गर्दै जारी गरिएको एउटा भिडिओ सन्देशमा राष्ट्रसंघीय दूत मिस्टूराले यो शान्ति वार्ता असफल हुन नसक्ने बताएका थिए।

तस्वीर कपीराइट AFP

तर वार्तामा उनीसंग युद्धरत दुवै पक्ष सहभागी होला या नहोला भन्ने नै स्पष्ट भैसकेको छैन।