नेपाल र भारतबीचको खेलको प्रतीक्षा

  • 31 जनवरी 2016
नेपाली टोली तस्वीर कपीराइट .
Image caption सन् २००० पछि विश्वकपमा यस्तो उपलब्धि दोहो-याउने पनि नेपाल एक मात्र राष्ट्र हो

न्युजिल्याण्ड र आयरल्याण्ड विरुद्धको लगातार दुई खेल जित्दै आइसीसी यु १९ विश्वकप क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली क्रिकेट टोली अब समूह चरणको अन्तिम खेलमा भारतसंग खेल्दैछ।

बांगलादेशको मिरपुर रंगशालामा सोमबार हुने सो खेलले समूह विजेताको टुंगो लगाउने छ।

शनिबार आयरल्याण्डलाई ८ विकेटले हराएसंगै नेपाल दोस्रो चरणमा पुग्ने पहिलो एसोसियट राष्ट्र बनेको थियो।

सन् २००० पछि विश्वकपमा यस्तो उपलब्धि दोहो-याउने पनि नेपाल एक मात्र राष्ट्र हो।

भारत र नेपाल दुवैले लगातार दुई खेल जितेर एक खेल अगावै दोस्रो चरणमा पुगेपछि समूह डी मा रहेका बांकी दुई टोली न्युजिल्याण्ड र आयरल्याण्डको यात्रा भने समूह चरणबाटै समाप्त भएको छ।

भेट

नेपालले भारतसंग सोमबार मिरपुर रंगशालामा खेल्दैछ।

भारतसंग नेपालको भेट हुन लागेको यो दोस्रो पटक मात्रै हो।

यसअघि सन् २००० मा नेपाल पहिलो पटक प्रतियोगिताको दोस्रो चरणमा पुग्दा भारतसंग खेलेको थियो।

त्यतिबेला मोहम्मद कैफ नेतृत्वको टोलीले नेपाललाई ८ विकेटले हराएको थियो।

युवराज सिंहले ४ विकेट लिएका थिए भने कैफले नेपाल विरुद्ध ५७ रन बनाएका थिए।

तर अहिले नेपालको मनोबल उच्च रहेको नेपालका टोली ब्यवस्थापक सुदिप शर्माले बताए ।

मनोबल

उनले भने,"हाम्रा खेलाडीहरुको आत्मविश्वास निकै बढिसकेको छ कि मनोबल उनीहरुको कतै पछाडी भएको देखिंदैन। उनीहरुले उक्त खेलमा बलियो भारत भनेर होइन एक प्रतिद्वन्द्वी मात्र भनेर सोच्नेछन् र राम्रो प्रदर्शन गर्नेछ भन्ने मलाई विश्वास छ। "

न्युजिल्याण्डलाई हराउदां आश्चर्यजनक नतिजा भनेका अन्तर्राष्ट्रिय संचारमाध्यमहरु अहिले नेपाल दोस्रो चरणमा पुगेपछि नेपाली टोलीको खुलेर प्रशंसा गरिरहेका छन्।

पहिलो पटक विश्वकपमा ह्याट्रिक सहित ५ विकेट लिने सन्दिप लामिछानेको राम्रो चर्चा भइरहेको छ।

भर्खरै १५ वर्ष पुगेका लामिछानेले भने,"ह्याट्रिक भन्दा पनि हाम्रो टोली दोस्रो चरणमा पुग्नु महत्वपुर्ण लागेको छ। दोस्रो चरणमा पुग्दा र ह्याट्रिक गर्न पाउँदा खुशी लागेको छ।"

भारतविरुद्ध सोमबार हुने खेलको बारेमा उनले भने, "हामी बलिङ ब्याटिङ र फिल्डिङमा राम्रो गरिरहेका छौं । त्यसैलाई भारत विरुद्ध पनि प्रयास गर्नेछौं।"

भारत विरुद्धको खेललाई नेपाली क्रिकेट प्रेमीहरुले चासोका साथ हेरिरहेका छन्।