'प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र'

  • 30 जनवरी 2016
Image caption नाकाबन्दीले आहत गृहिणीहरुले समेत भारतको तीव्र आलोचना गर्ने गरेका छन्

भारतबाट पटक पटक औपचारिक र अनौपचारिक निम्तो पाएका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको तयारी गर्न कूटनीतिक र औपचारिक सक्रियता तीव्र हुँदै गएको बताइएको छ।

आगामी फेब्रुअरी महिनाको १९ देखि २३ सम्म भारत भ्रमण हुने गरी दुवै देशका सम्बन्धित निकायहरुले गृहकार्य गरिरहेको बुझिएको छ।

उक्त भ्रमणले दुई देशबीच उत्पन्न असमझदारी कम गर्ने जानकारहरुको विश्वास छ।

नवनिर्वाचित प्रधानमन्त्रीले छिमेकी भारतको भ्रमण गर्ने परम्पराको निरन्तरताकै रुपमा प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन्।

निर्देशन

फागुनको पहिलो साताको अन्त्यदेखि सुरु हुने गरी प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी गर्न भारतस्थित नेपाली दूतावास, नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयहरुले तयारी अगाडि बढाउन निर्देशन पाइसकेका छन्।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले भने, "अर्थमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको भ्रमण मिति तय हुन्छ र कतिपय एजेण्डामा कुराकानी पनि हुन्छ।"

करिब पाँच महिनादेखि जारी अघोषित नाकाबन्दीले आहत गृहिणीले समेत चुलो चौकामै गर्ने गरेको भारतको तीव्र आलोचना र नेपालका युवाहरुमा समेत भारत विरोधी भावना बढ्दै गएको भन्ने चाल पाएको भारतले नेपाली अधिकारीहरुसमक्ष त्यसबारे गम्भीर चिन्ता व्यक्त गर्ने गरेको बताइन्छ।

यो स्थितिमा उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धमा 'अभूतपूर्व रुपमा उत्पन्न तिक्तता' हटाउन सक्ला?

पूर्व परराष्ट्र सचिव तथा पूर्व राजदूत डा मदन भट्टराईले भने, "वरिष्ठ नेताहरुको भ्रमण आदानप्रदान स्वाभाविक हो। समस्याको समाधान शान्तिपूर्ण वार्ता नै हो। माथिल्लो स्तरको कुराकानीलले वार्तालाई गति दिन्छ र दुई देशबीचको सम्बन्ध न्यानो बनाउन अवश्य पनि भ्रमणले मद्दत गर्छ।" भ्रमणमा भारतसँग पहिलेदेखि उठाइँदै आएका विषयहरु, तत्काल कार्यान्वयन गर्न सकिने परियोजना र चिसिएको सम्बन्धमा न्यानोपन गरी तीन थरी एजेण्डा बनाउन प्रधानमन्त्रीले निर्देशन दिइसकेको बुझिएको छ।

पूर्व राजदूत, पूर्व परराष्ट्र मन्त्री तथा सचिवहरुसँग छलफल गरेर एजेण्डालाई अन्तिम रुप दिइने बताइएको छ।

नाकाबन्दी नहटाइ भारत भ्रमणमा जान्न भन्ने गरेका प्रधानमन्त्रीको भ्रमणको तयारी तीव्र बन्दै गएपछि नाकाबन्दी हट्न लागेको सूचना प्रधानमन्त्रीलाई प्राप्त भएको हुनसक्ने आकलन गर्नेहरु पनि छन्।