‘पञ्चेश्वर प्राधिकरणको बैठक तीन सातापछि’

  • 1 फेब्रुअरी 2016
तस्वीर कपीराइट bbc
Image caption गत पुसको पहिलो हप्तामा हुने तय भएको बैठक दुई पटक स्थगित भईसकेको छ।

नेपाल-भारत सम्बन्धमा देखिएको तिक्ततामाझ गत महिना दुई पटक स्थगित भईसकेको पञ्चेश्वर विकास प्राधिकरणको बैठक तीन सातापछि बस्ने नेपालका अधिकारीहरुले बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीसँगै बैठक हुन लागेको हो।

नेपाल र भारत दुवै देशको जलविद्युत र सिँचाइलाई ठूलो फाइदा पुग्ने ठानिएको पञ्चेश्वर परियोजनाको निर्माण सम्झौता २० वर्षअघि भएपनि अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन समेत तयार हुन सकेको छैन।

प्रत्येक ६ महिनामा एक पटक भारत र एकपटक नेपालमा प्राधिकरणको बैठक बस्ने परम्परा अनुसार नेपालको पालो थियो।

स्थगन

तर गत पुसको पहिलो हप्तामा हुने तय भएको बैठक दुई पटक स्थगित भईसकेको छ।

पछिल्लो बैठक दुई दिनपछि बस्ने कार्यक्रम थियो।

भारतीय अधिकारीहरुले व्यस्तताका कारण देखाउँदै उपस्थित हुन नसकिने जानकारी गराएपछि बैठक सारिएको बताइएको छ।

सो बैठकमा नेपालको तर्फबाट अध्यक्षता गर्न लागेका ऊर्जा सचिव सुमनप्रसाद शर्माले भने, “काम अगाडि बढिरहेको छ, फेब्रुअरीको तेस्रो साता अर्को बैठक बस्ने कुरा छ।”

दुई देशको जलविद्युत र सिँचाइमा धेरै फाइदा पुग्ने ठानिएको महाकाली सन्धिअन्तर्गत पञ्चेश्वर परियोजनामा नेपाल र भारतबीच हस्ताक्षर भएको २० वर्ष भईसकेको छ।

तर अहिलेसम्म परियोजनाको डीपीआर अर्थात विस्तृत परियोजना प्रतिवेदन समेत तयार भएको छैन।

तनाव

कतिपयले भारतले चासो नदिँदा नै काम अगाडि बढ्न नसकेको भनिरहेको बेला गतवर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानसभा बैठकमा एकवर्षभित्र पञ्चेश्वर निर्माण कार्य शुरु गरिने बताएका थिए।

त्यसपछि गठन गरिएको पञ्चेश्वर विकास प्राधिकरणको बैठक अहिले स्थगित हुनुमा नेपाल भारत सीमामा जारी अवरोध र त्यसले दुई देशबीच उत्पन्न तनाव कारण रहेको कतिपयको ठम्याई छ।

तर ऊर्जा सचिव शर्मा त्यस्तो परिस्थिति नदेखिएको बताउँछन्।

उनले भने, “दुई पटक तिथि सरेकोले के होला भन्ने शंका भएको होला, तर त्यस्तो शंका मानिहाल्नुपर्ने स्थिति चाहिँ हामीले देखेका छैनौँ।”

महाकाली सन्धि भएको ६ महिनाभित्र नै पञ्चेश्वर परियोजनाको डीपीआर अर्थात विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सहमति भएपनि अहिलेसम्म त्यो तयार भइसकेको छैन।

तर भारतीय ऊर्जा सचिव प्रदिपकुमार पुजारीले परियोजनाको जिम्मा पाएको वापकोस इण्डिया लिमिटेडले अर्को महिनासम्ममा डीपीआर प्रतिवेदन तयार पारिसक्ने बताएका छन्।