इयु सदस्यताकाबारे जनमत संग्रह केही महिनामा

  • 2 फेब्रुअरी 2016
तस्वीर कपीराइट AFP

ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरनले भनेका छन् ब्रिटेनले आफ्नो युरोपेली संघको सदस्यताका बारे आगामी केही महिनाभित्रै जनमत संग्रह गर्न सक्नेछ।

ब्रिटिश प्रधानमन्त्री, उनको देशलाई युरोपेली संघको सदस्य बनिरहन मनाउने प्रयासमा प्रस्तुत गरिएका मस्यौदा प्रस्तावहरु सार्वजनिक भएपछि बोल्दै थिए।

मंगलबार युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कले ब्रिटेनलाई युरोपेली संघको सदस्यता कायमै राख्न मनाउने प्रयासमा विभिन्न प्रावधानहरु सहितको मस्यौदा प्रस्ताव प्रस्तुत गरेका थिए।

युरोपेली संघका प्रावधानहरुमा सुधार गर्नु पर्ने आफ्ना मागहरुलाई सम्बोधन गर्ने प्रयासमा सार्वजनिक भएका प्रस्तावहरुमा ब्रिटेनले इयुसंगको सम्बन्धमा हेर्न चाहेको कुराहरु परेको ब्रिटिश प्रधानमन्त्रीले बताएका छन्।

विकल्प

प्रधानमन्त्री क्यामरनले भनेका छन् ती प्रस्तावहरुले ब्रिटेनलाई अनुकुल हुने विकल्पहरु प्रस्तुत गरेका छन्।

तस्वीर कपीराइट PA

तर फेब्रअरी १८ र १९ मा हुने युरोपेली संघका सदस्य राष्ट्रहरुको शिखर बैठक अघि ती प्रस्तावहरुमाथि गर्नु पर्ने कामहरु धेरै भएको उनको भनाइ थियो।

ब्रिटेनले युरोपेली संघको सदस्यता परित्याग गर्नु पर्छ भन्ने अभियानकर्ताहरुले ती मस्यौदा प्रस्तावका प्रावधानहरु प्रधानमन्त्री क्यामरनले जनाएका प्रतिबद्धताहरुको छेउछाउ पनि नपुगेको प्रतिक्रिया दिएका छन्।

ब्रिटेनको युरोपेली संघको सदस्यताका आलोचक ठानिने यू के इन्डीपेन्डेन्स पार्टीका नेता नाइजल फाराजले इयुले प्रस्तुत गरेका प्रस्तावलाई दयनीय भनेका छन्।

प्रावधान

ती प्रस्तावहरुमा अन्य कुराहरुका अतिरिक्त ब्रिटेनले युरोपेली संघका सदस्यलाई अझ निकट तुल्याउने नियमहरु अन्तरगत बस्न नपर्ने र अन्य इयु राष्ट्रका कामदारहरुलाई परोपकारी सुविधाहरु दिन नपर्ने विकल्प अपनाउन पाउने जस्ता प्रावधानहरु उल्लेख छन्।

तस्वीर कपीराइट Reuters

ब्रिटेनका सामु प्रस्तुत गरिएका प्रस्तावहरुलाई आगामी दुई हप्तामा हुने युरोपेली संघका सबै २८ वटा सदस्य राष्ट्रहरुको शिखर बैठकले अनुमोदन गर्नु पर्नेछ।

प्रधानमन्त्री क्यामरनले शुक्रबार पोल्याण्ड र डेनमार्कको भ्रमण गर्नेछन् र अन्य इयु राष्ट्रहरुलाई युरोपेली आयोगका अध्यक्ष डोनल्ड टस्कले प्रस्तुत गरेका प्रस्तावलाई समर्थन गर्न मनाउने प्रयास गर्नेछन्।

दुई हप्तापछि हुने इयु राष्ट्रहरुको शिखर बैठकमा क्यामरनले ‌आफ्नो पक्षमा समर्थन हासिल गर्न सकेमा उनले ब्रिटेन इयुको सदस्य रहिरहनु पर्छ की पर्दैन भन्ने विषयमा आगामी जुन महिनामा जनमत संग्रह गराउने अनुमान गरिएको छ।