एप्पलभन्दा गुगल अगाडि

  • 2 फेब्रुअरी 2016
तस्वीर कपीराइट

गुगलमा स्वामित्व रहेको अल्फाबेट इन्कर्पोरेटेड अमेरिकामा सबैभन्दा महंगो कम्पनी बनेको छ।

सेयरको नियमित कारोबारको समयभन्दा पछि भएको व्यापार समेत गरी अब उसको मूल्य ५६८ अर्ब डलर पुगेको छ जुन उक्त कम्पनीको प्रतिद्वन्द्वी एप्पलभन्दा बढी हो।

अल्फाबेटको आम्दानीबाट लगानीकर्ताहरु पनि उत्साहित भएका छन्।

पछिल्लो त्रैमासिक उसको नाफा ५ प्रतिशतले बढेको पाइएको छ।

किर्तिमान

तस्वीर कपीराइट Reuters

उक्त कम्पनीले चौथो त्रैमासिकमा चार दशमलव नौ अर्ब डलर नाफा गरेको छ, जुन अघिल्लो बर्षको उक्त अवधि भन्दा बढी हो।

उक्त घोषणासँगै उसको सेयरको मूल्य बढेको छ र कारोबारको नियमित समयपछि पनि भएको व्यापारमा त्यो वृद्धि नौ प्रतिशतसम्म देखिएको छ।

त्यसको अर्थ अल्फाबेट कम्पनीको मूल्य अब ५६८ अर्ब डलर पुगेको छ।

उसको प्रतिद्वन्द्वी एप्पलको मुल्य ५३५ अर्ब डलर हो।

आफ्नो आम्दानी सार्वजनिक गर्ने क्रममा यसपटक पहिलो चोटी अल्फाबेटले आफ्ना गुगलबाट हुने कारोबारका अलग अलग नतिजाहरु सार्वजनिक गरेको छ।

‘सर्च इन्जीन’ र युट्युब अनि ‘अदर बेट्स’ भनिने परीक्षणमै रहेका स्वचालित कार तथा इन्टरनेट बेलुन कार्यक्रमका आम्दानीहरु प्रतिवेदनमा समेटिएको छ।

वर्षभरमा, अल्फाबेटले झन्डै १६ दशमलव ३ अर्ब डलर जम्मा गर्यो भने ‘अदर बेट्स’ बाट ३ दशमलव ६ अर्ब डलरको नोक्सानी भयो तर अनलाइन विज्ञापन वृद्धि भएकाले गुगलको आम्दानी बढेर झन्डै साडे २३ अर्ब डलर पुग्यो।

मिजुओ सेक्युरिजिटका अनुसन्धान हेर्ने प्रबन्ध निर्देशक निल डोसीका अनुसार गुगलले डेक्सटपसँगै मोबाइल प्रविधिबाट पनि निकै लाभ पाइरहेको देखिन्छ।

उनी भन्छन्, “दुई वा तीनवर्ष अघिसम्म पनि मोबाइल गुगलका लागि टाउको दुखाइको विषय थियो, त्यसका कारण डेक्सटपको व्यापारमा नकारात्मक प्रभाव पार्ने चिन्ता गरिएको थियो तर मोबाइलबाट नै खोजी थालिएपछि मोबाइलको विज्ञापन र डेक्सटपको विज्ञापनका मूल्य लगभग एउटै हुन पुगेको छ।”

कारण

तस्वीर कपीराइट Google

बीबीसीका प्रविधि सम्वाददाता डेभ ली भन्छन, “यदि भविष्यका लागि पर्याप्त योजनाहरु नसारेकोमा अघिल्लो हप्ता एप्पललाई दण्डित गरिएको थियो भने अहिले प्रविधिसम्बन्धी धेरै अपत्यारिला जोखिममा खर्च गरेकोमा अल्फाबेटलाई पुरस्कृत गरिएको जस्तो देखिन्छ।”

उनका अनुसार सो कम्पनीमाथि चलकविहीन कार, गुगल चस्मा तथा इन्टरनेट जडित हेलियम बेलुनका लागि खर्च गरिने रकम पारदर्शी बनाउन व्यापक दवाव परेको थियो। अघिल्लो वर्ष त्यसका लागि झन्डै ३ दशमलव ६ खर्ब छुट्याइएको देखिन्छ।

तर जबसम्म अल्फाबेटको स्वामित्वमा रहेको गुगलले यसरी नै राम्रो गरिरहन्छ, ती कार्यक्रममा भएका यस्ता नोक्सानीले खासै प्रभाव नपार्ने उनको विश्लेषण छ।

बीबीसी सम्वाददाता ली भन्छन् अवस्था यस्तै रहेसम्म अल्फाबेटमा लगानीकर्ताहरुको आकर्षण रहिरहनेछ।

अल्फाबेट सबैभन्दा मूल्यावान कम्पनी बन्नुलाई कतिपयले प्रविधि कारोबारमा देखिने गरेको क्रमभंगताको रुपमा टिप्पणी गरेका छन्।

सन् २०१० मा माइक्रोस्फटलाई उछिन्दै एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको थियो।

माइक्रोस्फटले उक्त उपाधि दुइ दशकअघि आइबिएमबाट हत्याएको थियो।