आयोवा ककसमा टेड क्रुजको जीत, ट्रम्प दोस्रो

  • 2 फेब्रुअरी 2016
तस्वीर कपीराइट Reuters

संयुक्त राज्य अमेरिकामा, टेक्ससका सांसद टेड क्रुजले राष्ट्रपतिय निर्वाचनमा रिपब्लीकन पार्टीको उम्मेदवार चयन गर्न आयोवा राज्यमा भएको पार्टीको मनोनयनको प्रतिस्पर्धा जितेका छन्।

राष्ट्रपतिको चुनावभन्दा अगाडि हुने ककस भनिने सार्वजनिक प्रतिस्पर्धाहरुमा यो सबैभन्दा पहिलो हो।

२८ प्रतिशत मत ल्याएर टेड क्रुजले आफ्ना प्रतिद्वन्दीहरु डोनल्ड ट्रम्प र मार्को रुबियोलाई उछिनेका छन्।

ट्रम्पले क्रुजलाई बधाई दिंदै आफु दोश्रो भएकोमा गौरवान्वित भएको बताए।

सन्देश

रिपब्लिकन पार्टीको नेतृत्व तहमा नरुचाईएका क्रुजले रिपब्लिकन पार्टीको उम्मेदवार र भविष्यका राष्ट्रपतिलाई संचार माध्यमले वा वाशिंटनले नछान्ने सन्देश आयोवाले दिएको बताएका छन्।

तस्वीर कपीराइट AP

विगत केही महिनादेखि आफ्नो पक्षमा समर्थन जुटाउन ठूलो प्रचार अभियान गरेका फ्लोरिडाका सांसद रुबियोले भने चुनावमा तेश्रो भएर अनुमान गरे भन्दा राम्रो प्रदर्शन गरेका छन्।

ट्रम्प भन्दा एक प्रतिशत मात्रै कम मत पाएका रुबियोको सफलतालाई धेरैले यो चुनावको सबैभन्दा महत्वपूर्ण नतीजा मानेका छन्।

रिपब्लिकन पार्टी भित्र पहिलो र दोश्रो भएका उम्मेदवारलाई मन नपराउने जमातका लागि रुबियो उपयुक्त विकल्प हुन सक्छन्।

डेमोक्रेटिक पार्टीको प्रतिस्पर्धामा भने मतगणना जारी रहंदा हिलरी क्लिन्टनको समूहका कार्यकर्ताले आफुले सानो अन्तरले जितेको बताईरहेका छन्।

उनका चुनावी अभियानका निर्देशक म्याट पलले क्लिन्टनले उनका प्रतिद्वन्दी ७४ वर्षीय सांसद बर्नी स्याण्डर्सलाई जितेको कुरामा कुनै अनिश्चितता नभएको बताएका छन्।

तस्वीर कपीराइट Getty

यो चुनावमा डेमोक्रेटिक पार्टीको आयोवा प्रतिस्पर्धाको ईतिहासमै दुई प्रतिस्पर्धी बीच सबैभन्दा कम अन्तर भएको बताईएको छ।

समान

अर्को हप्ता हुने ककसका लागि न्यु ह्याम्पशायर राज्यतर्फ लाग्नु अगाडि क्लिन्टनका प्रतिद्वन्दी स्याण्डर्सले यो चुनावको नतीजालाई झण्डै समान भएको भनेका छन्।

अब एउटा चुनावी उपक्षेत्रको नतीजा आउन बाँकी भएको समयमा क्लिन्टनले भने आफ्ना समर्थकहरुलाई आफुले चैनको सास फेरेको बताएकी छिन्।

यी दुबै पार्टीभित्र भईरहेको प्रतिस्पर्धाको उद्देश्य आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतिको चुनावको लागि पार्टीको प्रतिनिधि उम्मेदवार छान्नु हो।

तस्वीर कपीराइट Reuters

आयोवाको चुनावपछि दुईजना प्रत्याशी यो दौडबाट बाहिरिएका छन्।

आर्केन्सा राज्यका भूतपुर्व गभर्नर माईक हकबी ले रिपब्लिकन पार्टीको चुनावमा आफु प्रतिस्पर्धा नगर्ने भन्दै सामाजिक संजाल ट्विटरमा लेखेका छन्।

त्यस्तै मेरील्याण्ड राज्यका भूतपुर्व गभर्नर मार्टिन ओम्यालीले आफ्नो चुनावी अभियान रोकेको बीबीसीलाई बताएका छन्।