‘नि:शुल्क टिकट, भिसा लागू गर्न कठिन’

  • 3 फेब्रुअरी 2016
नेपाली कामदार
Image caption वैदेशिक रोजगारीका लागि खाडीका छ देश र मलेसिया जाने कामदारलाई भिसा र टिकट नि:शुल्क दिलाउनुपर्ने नियम छ।

वैदेशिक रोजगारीका लागि खाडीका छ देश र मलेसिया जाने कामदारलाई सम्बन्धित कम्पनीले नै भिसा र टिकट नि:शुल्क उपलब्ध गराउनु पर्ने सरकारी निर्णय लागू नभएको गुनासो बढेका बेला वैदेशिक रोजगार विभागका महानिर्देशकले उक्त निर्णयमाथि पुनर्विचार गरिनु पर्ने बताएका छन्।

निर्णय व्यवहारिक नभएकाले कार्यान्वयन गर्न कठिनाई भएको उनको भनाइ छ।

पछिल्ला दिनमा वैदेशिक रोजगारीमा अनुगमन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी निर्णय लागू गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

निर्णय लगत्तै म्यानपावर कम्पनीको विरोधको सामना गरेको भिसा र टिकट नि:शुल्क उपलब्ध गराउनु पर्ने निर्णय ६ महिना भइसक्दा पनि कार्यन्वयन हुन नसकेको विभिन्न अध्ययनहरुले देखाएको छ।

वैदेशिक रोजगारीमा जानेहरुलाई भिसा र टिकट नि:शुल्क उपलब्ध गराइएको कागजी रुपमा देखाइने गरिएको भए पनि व्यवहारमा उनीहरुबाट धेरै पैसा लिने गरेको पाइएको ती अध्ययनहरुले देखाएका छन्।

सुझाव

सरकारको निर्णय कार्यान्वयन गर्न लागि परेको र पैसा लिएको प्रमाण भेटे सम्बन्धित म्यानपावर कम्पनीलाई कारबाही गर्न तयार रहेको भनाइ राख्ने वैदेशिक रोजगार विभागका महानिर्देशक केदारबहादुर बोगटी स्वयं उक्त सरकारी निर्णय व्यवहारिक नभएकाले आफूले पूर्ण कार्यान्वयन गर्न नसकेको बताउँछन्।

उनले उक्त निर्णयमा संशोधन गर्नुपर्ने सुझाव दिएका छन्।

बोगटीले भने, "कार्यान्वयन गर्दै गर्दा मैले के अनुभव गरे भने यो कतै कार्यान्वयन हुन नसक्ने निर्णय हो कि जस्तो लागेको छ। त्यो निर्णयलाई सबै पक्षसँग छलफल गरेर अध्ययन विश्लेषण गरेर लागू गर्न सक्ने बनाउनु पर्ने मेरो माग छ।"

मन्त्रालयदेखि लिएर अन्य विभिन्न सरोकारवालाहरुसंगको छलफलमा समेत आफूले उक्त सुझाव राख्ने गरेको उनको भनाइ छ।

तर हालै मात्र नि:शुल्क भlसा र टिकटको फितलो कार्यान्वयनबारे अध्ययन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको निर्णय लागू गराउन अपनाउनु पर्ने उपायसहित सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ।

'अनियमितता'

यदि त्यसो हुन नसके दण्ड कारबाहीतिरै लाग्नु पर्ने आयोगका प्रवक्ता कृष्णहरि पुष्करले बताए।

उनले भने "त्यो क्षेत्रका पदाधिकारी र सरोकारवाला निकायहरुले जे जस्तो जिम्मेवारी वहन गर्नु पर्ने हो, जिम्मेवारी वहन गर्नु भएन र अनियमिततामा संलग्न हुनु भयो भने हामीले दण्ड कारबाहीमा जाने गरी सबै कुरा तयार पारि रहेका छौं।"

रोजगारीका लागि कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमन, कुवेत र मलेसिया जाने कामदारलाई सम्बन्धित कम्पनीले नै भिसा र टिकट नि:शुल्क उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ।

रोजगारीमा जाने कामदारले स्वास्थ्य जाँच, बीमा, अभिमुखीकरण र कल्याणकारी कोषका लागि करिब ८ हजार रुपैयाँ तिर्नु पर्ने व्यवस्था रहेको छ।

यसका अलावा रोजगारदाता कम्पनीले कमिसन उपलब्ध नगराएको भए मात्र म्यानपावर कम्पनीले कामदारबाट १० हजार रुपैंयाँसम्म सेवा शुल्क लिन पाउने व्यवस्था रहेको छ।