वीरगंज नाका खोल्नेबारे मोर्चामा विवाद

  • 4 फेब्रुअरी 2016
राजेन्द्र महतो
Image caption महतो (बायाँ) ले एउटा नाका मात्र अवरोध गर्नुको कुनै औचित्य नरहेको बताए

मोर्चाको एक घटक तराइ मधेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमांकनको कुरा नमिलेसम्म वीरगञ्ज नाका नखोल्ने बताएको भोलिपल्ट मोर्चाकै अर्को घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगञ्ज नाकामात्र बन्द गर्नुको औचित्य नरहेको बताएका छन्।

पछिल्लो समय अन्य नाकाको अवरोध हटेपनि भारतसंगको प्रमुख सीमानाका वीरगञ्ज रक्सौलमा मोर्चाको अवरोध कायमै छ।

असोजको पहिलोसातादेखि मोर्चाले नेपाल भारत सीमा नाकामा अवरोध गरेको थियो।

उक्त नाका मार्फत हुने व्यापार व्यवसाय ठप्प हुँदा अवरोध रोक्न स्थानीयवासीको दवाब बढ्दै गएको भनिएका बेला सद्भावना पार्टीका अध्यक्ष महतोले एउटा नाका मात्र अवरोध गर्नुको कुनै औचित्य नरहेको बताएका हुन् ।

"खोलौं"

पटना र बिहारमा भारतीय नेताहरुसंग भेटघाट गरी फर्केका महतोले बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसामु भने ," सबै बन्द गरिदिनु प-यो, नत्र एउटा वीरगंज नाकामात्र बन्द गर्नु हुंदैन। यसले जनतालाई समस्या भयो सरकारलाई केही समस्या भएको छैन। त्यसैले या त सबै बन्द गरौं या त वीरगंज खोलौं। वीरगंज मात्र बन्द गर्दा तस्करीतन्त्रलाई बढावा दिनेछ, त्यसैले मोर्चामा म यो कुरा राख्छु।"

मोर्चाकै कमजोरीका कारण सीमानाका अवरोध आन्दोलन सफल हुन नसकेको बताउँदै निर्णायक आन्दोलनका लागि शक्ति सञ्चय गर्न आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने महतोको भनाइ छ।

छलफल

संविधान संशोधनपछि केही सकारात्मक देखिएका महतोले सहमतिका लागि तराईमा दुई प्रदेश हुनुपर्ने र उक्त विषयमा बसेर छलफल गर्न सकिने बताए।

उनले भने,"मेचीदेखि महाकालीसम्म मधेशसमा दुई प्रदेश हुनुपर्छ। झापा, मोरंग, सुनसरी जुन पहाडी प्रदेशसंग मिलाइयो। वीरगंजपछिको पहाडी भूभागहरु कहां कहां मिलाइयो ? थरुहटका भूभाग कहां कहां मिलाइयो ? जिल्लाहरुको विषयमा सहमतिको जुन कुरा छ, त्यो त सीमा कहांसम्म राख्ने हो त्यसको आधारमा छलफल गर्न सकिन्छ।

भारतीय सत्तारुढ पार्टीका नेताहरुले आफ्नो आन्दोलनमा सहयोग पु-याउन दिल्ली सरकारमार्फत नेपाल सरकारलाई दबाब दिने आश्वासन दिएको र त्यसका लागि भारतीय नेताहरुले दबाबमूलक पदयात्रा गरी काठमान्डू आउने पनि महतोले बताए।