सिरियाका लागि अर्बौं डलर सहायताको वाचा

  • 4 फेब्रुअरी 2016
तस्वीर कपीराइट .

सिरियाको युद्धबाट पीडित लाखौं मानिसको स्थितिलाई अलि सहज बनाउने उद्देश्यले लण्डनमा शुरु भएको एउटा दातृ सम्मेलनमा दाताहरुले अर्बौं डलर दिने प्रतिबद्धता जाहेर गरेका छन्।

सो रकम शरणार्थीहरुको अहिलेको राहतको लागि मात्रै नभै शिक्षा र रोजगारी जस्ता दीर्घकालीन आवश्यकताका लागि पनि चाहिने संयुक्त राष्ट्रसंघले बताएको छ।

यो संकट विश्वव्यापी भएको र यसको भार अझ बृहत्तर रुपमा बाँडिनुपर्ने राष्ट्रसंघले जनाएको छ।

छायाँ

जर्मनीले सन २०१८ सम्म मानवीय सहायताका लागि साढे दुई अर्ब र ब्रिटेनले अबका ४ वर्षमा झण्डै दुई अर्ब डलरको प्रतिबद्धता जाहेर गरेका छन्।

संयुक्त राष्ट्र संघ र सिरियालीहरुले शरण लिएका छिमेकी राष्ट्रहरुले यो वर्षका लागि मात्रै ९ अर्ब डलर आवश्यक रहेको बताएका छन्।

सम्मेलनको शुरुवातमा ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले जीवनरक्षक सहायताको चिन्ताजनक कमी भएको भनेका थिए।

उनी र संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन दुबैले छिट्टै नै सबै शरणार्थी बालबालिकाको शिक्षामा पहुँच हुनुपर्ने बारेमा बोलेका थिए।

संबोधन

सम्मेलनमा ७० देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधन सुनेका थिए।

महासचिव मुनले सिरियामा रहेको ठूलो मानवीय आवश्यकताहरुका बारेमा बोलेका थिए।

तर यो सम्मेलनको शुरुवातलाई शान्तिवार्ताको स्थगनले र सिरियामा जारी द्वन्द्वले छायाँमा पारेको छ।

अलेप्पो भन्दा उत्तरमा रुसी समर्थनप्राप्त सिरियाली सरकारको आक्रमण जारी छ।