साढे ४ महिनापछि वीरगञ्ज‍-रक्सौल नाका खुला

  • 5 फेब्रुअरी 2016
तस्वीर कपीराइट bijaya mahato
Image caption मुख्य नाका अवरोध हुँदा दैनिक उपभोग्य सामानहरुको आपूर्तीमा निकै समस्या भइरहेको छ

नेपाल भारतबीचको सबभन्दा ठूलो भन्सार नाका वीरगञ्ज-रक्सौलमा साढे चार महिनादेखि जारी अवरोधलाई शुक्रबार हटाइएपछि दुवै तर्फबाट केही मालवाहक गाडीहरु आवतजावत गरेका छन्।

नेपाल र भारत दुबै तर्फका व्यवसायी र स्थानियबासी मिलेर नाका खोलेको बताइएको छ।

नाकाको मितेरी पुलमा आन्दोलनकारीले स्थापना गरेका पाल र बाँसको अवरोधलाई उनीहरुले जलाइदिएलगत्तै दुबै तिर रोकिएका सवारी साधनहरु धमाधम आऊजाऊ गरे।

तर नाका खुले लगत्तै पुलमा पुगेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताले नाका अवरोध नखुलेको जनाए।

अवरोध

नाकाको अवरोध हट्ने बितिकै भारतीय क्षेत्र रक्सौल र नेपालको वीरगञ्जमा रोकिएका मालवाहक सवारी साधनहरु धमाधम आउजाउ गर्न थाले।

अवरोध हटाउने र मालसामान ल्याउनेहरुको लामो समयसम्म मितेरी पुलमा भीडभाड थियो।

पाल जलाएर सवारी साधन चल्न थालेपछि नेपाली प्रहरी पनि पुल नजिकै पुगेका थिए।

दुबै तर्फका बासिन्दाहरुले बिहानैदेखि अवरोध हटाउने तयारी गरेको वीरगञ्जका ब्यवसायी प्रकाशले बताए।

उनले भने, "विहान आएर हेर्दा त केही पनि थिएन के यता। एक/दुईजना मात्रै मान्छे बसेका थिए। उताबाट टेन्टहरु सबै लिएर गइहाले।"

व्यापारीहरुले नै नाकाको अवरोध हटाएपछि सामानका गाडीहरु ओहोरदोहोर गरेको पर्साका प्रमुख जिल्ला अधिकारी केवशराज घिमिरेले बताए।

उनले भने, "नाकाको स्थिति अब उताबाट आउने र यताबाट जाने सवारी साधनहरु निर्वाध गइरहेका छन्। सिमामा पनि एकछिन तनाव थियो त्यो अहिले शान्त भएको छ। अब रातपर्न लागेको छ आन्दोलनकारीहरु पनि घर फर्कँदैछन्। मान्छेको जमघट घट्दैछ।"

भारतीय व्यवसायीहरु पनि अवरोध हटाउन निकै सक्रिय थिए।

दबाब

एकजना भारतीय ब्यवसायी सञ्जय कुमारले भने, "सबै नाकाहरु खुलेका छन्। यो नाका पनि खुल्छ। यो बन्द गर्न आए प्रतिकार गरिनेछ। यो नाका खोल्ने भन्छन्। तर कहिले खोल्ने? मानिसहरु मरिसकेपछि खोल्ने? यो दशगजा क्षेत्र हो। यो नेपाल र भारत कसैको होइन। नाका बन्द गर्ने हो भने शंकराचार्य द्वारमा बन्द गर्न जाओस्।"

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नाका अवराेधलाइ निरन्तरता दिने पक्षमा देखिँदैन।

तर पनि अवरोध हटाइए लगतै नाकामा नेताहरु पुगेका थिए।

त्यहाँ पुगेका तराइ मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले भने, "१/२ दिनमै आन्दोलनका स्वरुपहरु परिवर्तन गर्ने कुरा हामीबीचमा चलिरहेको थियो। मोर्चाको बैठक बसेर त्यसलाई गर्छौं पनि। तर अचानक यो घटना घट्यो। हाम्रो पालहरु जलाइएको छ। जबसम्म हाम्रो आन्दोलनको स्वरुप परिवर्तन हुँदैन तबसम्म फेरी पनि यो नाकालाई अवरुद्ध पार्छौं।"

अब बस्ने मोर्चाको बैठकले नाकाको अवरोध हटाउने निर्णय गर्ने अपेक्षा गरिएको छ।

नाकामा पाँच महिनादेखि रहेको अवरोध हटाउन सीमावर्ती क्षेत्रका बासिन्दा र ब्यवसायीहरुको चर्को दबाब देखिन्छ।