‘रक्सौलमा रोकिएका ट्रक र कन्टेनर नेपाल प्रवेश’

  • 6 फेब्रुअरी 2016
तस्वीर कपीराइट .

भारतसँगको प्रमुख नाका वीरगञ्ज शुक्रबार दिउँसोदेखि खुलेपछि दुई सयभन्दा बढी मालवाहक ट्रक तथा कन्टेनरहरु नेपाल भित्रिएको अधिकारीहरुले बताएका छन्।

नाकाको अवस्था अहिले सामान्य रहेको र सवारी साधनहरु सहज रुपमा आवतजावत गरिरहेको अधिकारीहरुले बताएका छन।

तराईमा आन्दोलनरत पक्षहरुले बन्द गरेको नाकालाई शुक्रबार स्थानीयबासिन्दाले खुलाएका थिए।

आन्दोलनकारीहरुको उपस्थिति नभएपनि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

तनाव

प्रहरीका अनुसार भारतको रक्सौल क्षेत्रमा रोकिएका नेपाली मालवाहक सवारी साधनहरु शुक्रबारदेखिनै निर्बाध रुपमा नेपाल भित्रिरहेका छन्।

पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठका अनुसार बिहानसम्म दुई सयभन्दा बढी गाडीहरु भित्रिएका छन्।

सीमा क्षेत्रमा कुनै तनाव नरहेको र भारतीय पक्षबाट सहयोग प्राप्त भईरहेकाले नाका अब बन्द नहुने उनले दाबी गरे।

उनले भने, “चालू छ, अहिलेसम्म ठिकै छ, दुई सयभन्दा बढी गाडीहरु आवतजावत गरेका छन्।”

नाकाबाट शनिबार बढी मालबाहक सवारी साधनहरु भित्रिने अपेक्षा गरिएपनि नेपाल आयल निगमले रक्सौल डिपोबाट इन्धन ल्याउने प्रक्रिया थाल्न एक साता लाग्ने निगमका अमलेखगञ्ज प्रबन्धक भानुभक्त खनालले बताए।

अवरोध

तस्वीर कपीराइट Ram Sarraf

उनले भने, “नाका सहज हुने बित्तिकै भोलिदेखि चट्ट पाइहाल्छ भन्ने जनताको अपेक्षा हुन्छ त्यो व्यवस्थापन गर्न निगममाथि अर्को कठिन जिम्मेवारी आइपुगेको छ।”

तराईमा आन्दोलनरत्त दलहरुले १ सय ३५ दिनदेखि नाकामा अवरोध गरेका थिए।

तर पछिल्लो केही समयदेखि नाकामा आन्दोलनकारीहरुको उपस्थिति न्यून भएको थियो।

नेपाल र भारतको सीमामा रहेको मितेरी पुलमा बनाइएको टेन्ट सीमा क्षेत्रका बासिन्दाहरुले जलाएर नाका खुलाएका थिए।

नाकाको धर्ना हटाउने संकेत दिन थालेका आन्दोलनकारी नेताहरुले निर्णय लिनु अगावै नाका सुचारु भएको देखिन्छ।

नाका खुलेको खबरसँगै पुनः नाका बन्द गर्न गएका मोर्चाका नेता कार्यकर्तालाई स्थानीयबासिन्दा र व्यापारीले फर्काइदिएका थिए।