सुरक्षा परिषदद्वारा उत्तर कोरियाको भर्त्सना

  • 8 फेब्रुअरी 2016
unsc तस्वीर कपीराइट epa
Image caption सुरक्षा परिषदसंगै अमेरिका र जापानले पनि रकेट प्रक्षेपणको छुट्टाछुट्टै विरोध गरेका छन्

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लामो दूरीको रकेट प्रक्षेपण गर्ने उत्तर कोरियाली कदमको एकमतले कडा निन्दा गरेको छ।

न्यूयोर्कमा भएको आकस्मिक वार्तापछि जारी वक्तव्यमा परिषद्ले नयां प्रतिबन्धको प्रस्ताव छिट्टै लागू गर्ने जनाइएको छ।

दावी-प्रतिदावी

प्योङ्गयाङ्गले पृथ्वीको कक्षमा एउटा भू-उपग्रह पठाउनका लागि रकेट प्रच्छेपण गरेको बताएपनि आलोचकहरुले उसको वास्तविक उद्देश्य 'ब्यालेस्टिक' क्षेप्यास्त्र प्रक्षेपण गर्ने रहेको ठानेका छन्।

उत्तरकोरियाले चौथो परमाणविक परीक्षण गरेको केही हप्तापछि पछिल्लो रकेट प्रक्षेपण भएको छ।

दुवै कदम राष्ट्रसंघीय नियमविपरीत हुन्।

एउटा बन्द बैठकपछि परिषद्का अध्यक्ष एवं भेनेजुएलाका लागि राष्ट्रसंघका दूत राफेल रामिरेजले सुरक्षा परिषद्का सबै सदस्यले एक मतले उक्त रकेट प्रच्छेपणको भर्त्सना गरेको बताए।

साथ

सुरक्षा परिषद्को पछिल्लो बैठक दक्षिण कोरिया,जापान र अमेरिकाको अनुरोधमा डाकिएको थियो।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत समन्था पावरले प्योङ्गयाङ्गविरुद्ध कडा कदमहरु चाल्ने विषय वासिङ्टनले सुनिश्चित गर्ने बताइन्।

सुरक्षा परिषद् र अमेरिकाको धारणामा जापानले साथ दिएको छ।

जापानी राजदूत मोतोहिदे योशिकावाले अहिले जारी प्रतिवन्धहरुले उत्तर कोरियालाई पारमाणविक हतियार बनाउन नरोकेको भन्दै त्यसलाई थप कडा पारिनुपर्नेमा जोड दिए।

विश्लेषकहरु भन्छन्, १० वर्ष पहिले उत्तर कोरियाले आणविक परीक्षण गरेयता उसमाथि लगाइएका प्रतिवन्धहरुले ठोस परिणाम दिए जस्तो देखिदैंन।

त्यसैले अमेरिकाले कडा प्रतिवन्धका लागि प्रयास गरिरहेको छ तर उत्तरकोरियासंग मित्रवत् सम्बन्ध रहेको चीनले त्यसमा रुचि देखाएको छैन।