सामाजिक सञ्जालमा कोइरालाप्रति श्रद्धाञ्जली

  • 9 फेब्रुअरी 2016
कोइरालाको शव तस्वीर कपीराइट Reuters
Image caption महाराजगञ्जस्थित निवासमा कोइरालालाई श्रद्धासुमन अर्पण गर्न थुप्रै सुभेच्छुकहरुको घुइँचो लागेको थियो

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनको खबरप्रति सामाजिक सञ्जालमा देश विदेशमा रहेका व्यक्तिहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

कोइरालाको निधनको खबरप्रति हाम्रो फेसबुक पेजमा तारा निरौला लेख्छन्, “कोइरालालाई परिस्थिति र समयले प्रधानमन्त्री बनायो। उनको निधनपछि उनका दलका महत्वाकांक्षीलाई बाटो खुल्ला भएको छ।”

हाम्रो फेसबुक पेजमै लालु गुरुङ लेख्छन्, “आफ्नै सरकारको नेतृत्वमा गणतान्त्रिक संविधान ल्याउन सफल इमान्दार सादा जीवनशैली र कुशल नेताको छवि बनाएका कोइरालाको निधनको खबरले स्तब्ध बनाएको छ।”

'अलविदा'

फुर्पा तामाङले चाहिँ फेसबुकमा लेखेका छन्, “कोइरालाले पार्टी जनता र देशको लागि जति गर्नुभएको छ त्यति मात्र लेख्दा इतिहास साँचो हुनेछ। एक निष्ठावान नेताका बारेमा लेख्नुपर्दा उनको कामको सहि सहि विश्लेषण गरेर सत्य कुरा मात्र लेखौं।”

त्यस्तै हाम्रो ट्वीटरमा दिनेशप्रसाद पन्त लेख्छन्, “उनी राजनीतिक एवम् सैद्धान्तिक उपलब्धी बोकेर हामीबाट सदाका लागि विदा भएका छन्।”

ट्वीटरमा अनुपम राज ढुंगाना लेख्छन्, “त्यागी र इमान्दार नेताका रुपमा उनले संविधान निर्माणमा ठूलो भूमिका खेलेका छन्। उनलाई दाग लगाउन मिल्दैन, अलविदा सुशील दा।”

हाम्रो फेसबुक पेजमा जीपी पौडेल एक प्रसिद्ध नेपाली कविता उद्धृत गर्दै लेख्छन्, “आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो; इन्द्रै बिन्ती गरुन् परेर पदमा त्यो बिन्ती सुन्दैन त्यो।”