कांग्रेस सभापति कोइरालाको निधन

  • 9 फेब्रुअरी 2016
koirala तस्वीर कपीराइट Surendra Phuyal
Image caption कोइरालाको निधन भएको खबर पाएपछि उनका शुभेच्छुकहरु काठमाण्डूस्थित उनको निवास पुगेका थिए

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मंगलबार निधन भएको छ।

न्यूमोनियाका कारण केही दिनदेखि उनी बिरामी रहेको उनको उपचारमा संलग्न रहँदै आएका डा. करबीरनाथ योगीले बीबीसीलाई बताए।

अविवाहित कोइराला करिब ७७ वर्षका थिए।

अप्रत्याशित

धेरैलाई केही दिनदेखि उनी बिरामी थिए भन्ने जानकारी थिएन।

त्यसैले पार्टी अधिवेशनको प्रक्रियामा रहेका पार्टीकै धेरै नेता कार्यकर्ताहरुका निम्ति पनि निधन अप्रत्याशित बन्न पुग्यो।

प्रमुख प्रतिपक्षी दलका नेताको निधनले तराई केन्द्रित दलहरु असन्तुष्ट रहेको नयाँ संविधान कार्यान्वयन प्रक्रिया र भावी राजनीतिलाई कस्तो असर गर्ला त्यो प्रष्ट छैन।

तर पार्टीको भावी नेतृत्व चयनको प्रक्रियामा होमिएको उनको दलको आन्तरिक राजनीतिलाई भने धेरै हदसम्म प्रभावित पार्ने देखिन्छ।

विक्रम सम्वत् २०१७ सालमा बीपी कोइरालाको दुई तिहाई बहुमतको सरकार अपदस्थ गरिए लगत्तै भारत प्रवास जाँदा उनी २१ वर्षका थिए।

२० वर्ष लामो भारत निर्वासन त्यागेर उनी जनमतसंग्रहको मुखमा नेपाल फर्किएपछि केन्द्रिय समिति सदस्य बने।

त्यसपछिका लामो समयसम्म पनि उनको राष्ट्रिय छवि बनिसकेको थिएन।

कृष्णप्रसाद भट्टराईपछि पार्टी नेतृत्व सम्हालेका गिरिजाप्रसाद कोइरालाले महामन्त्री, उपसभापति र कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उनलाई आफ्नो उत्तराधिकारीको बलियो उम्मेदवारको रुपमा स्थापित गरेका थिए।

स्थापनाकालदेखि अधिकांश समय कोइराला वृत्तमै रहेको कांग्रेस पार्टीको नेतृत्व फेरि पनि कोइराला परिवारकै नजिक पुर्याउन उनीमाथि चर्को पारिवारिक दबाब रहेको जानकारहरुको भनाइ छ।

त्यो परिस्थिति निर्माण नभइसकेकाले उनी फेरि आफै सभापतिको आकांक्षी थिए भन्ने कतिपयले अनुमान गरेका थिए।

जुन कुरा महाधिवेशन प्रतिनिधि छनौट सकिएपछि निर्क्योल हुने ठानिएको थियो।

वि.सं १९९६ साउन २८ गते विराटनगरमा जन्मिएका कोइराला बीपी र गिरिजाप्रसाद कोइरालाका सानीआमाका छोरा हुन्।

पहिलो संविधानसभामा दोश्रो बनेको दल सबैभन्दा ठूलो उनकै सभापतित्वकालमा बन्यो।

उनकै प्रधानमन्त्रीत्वकालमा संविधान जारी भयो।

तर पार्टीको आन्तरिक राजनीति व्यवस्थित गर्न नसकेको र एमालेलाई सत्ता हस्तान्तरण नगरेर फेरि प्रधानमन्त्रीको उम्मेदवार बनेकामा उनले चर्को आलोचना खेप्नु परेको थियो।

आर्थिक मामिलामा उनी निजी जीवनमा तुलनात्मक रुपमा स्वच्छ नेता मानिन्थे।

कोइरालालाई दुई पटक क्यान्सर र एक पटक क्षयरोग भएको थियो।

भक्तपुरमा केही साता अघि आयोजित पार्टीकै एउटा कार्यक्रममा उनले आफूले क्यान्सरलाई जितिसकेको बताएका थिए।

तर मंगलबार बिहानी प्रहर सुरु हुँदा नहुँदै उनी न्यूमोनियाबाट सादाका निम्ति परास्त हुन पुगे।