टर्कीका राष्ट्रपतिद्वारा अमेरिकाको आलोचना

  • 10 फेब्रुअरी 2016
तस्वीर कपीराइट AFP
Image caption सिरियालीलाई प्रवेश दिन टर्कीलाई दबाब परिरहेको बेला एर्दोआनको यस्तो अभिव्यक्ति आएको हो

टर्कीका राष्ट्रपति रेजेप टायिप एर्दोआनले कुर्द लडाकुहरुलाई समर्थन गरेकोमा संयुक्त राज्य अमेरिकाको कडा आलोचना गरेका छन्।

३० हजार सिरियालीलाई आफ्नो देशमा प्रवेश गर्न दिन टर्कीमाथि दबाब बढिरहेको बेला उनको यस्तो अभिव्यक्ति आएको हो।

राष्ट्रपति एर्दोआनले सिरियाको डिमोक्रेटिक युनियन पार्टी र त्यसका लडाकू दस्ता आतंककारी भएको कुरा पहिचान नगरेर त्यो क्षेत्रमा रगतको खोला बगाएको आरोप वाशिंटनलाई लगाएका छन्।

आलोचना

सिरियाभित्र इस्लामिक स्टेट नामक लडाकु समूहलाई परास्त गर्न अमेरिकाले सो डेमोक्रेटिक युनियन पार्टीको सहारा लिएको छ।

टर्कीको सिमानापारि सिरियामा रहेका ३० हजार सिरियालीलाई आफ्नो देशमा प्रवेश गर्न दिन टर्कीमाथि दबाब बढिरहेको बेला राष्ट्रपति एर्दोआनको यस्तो टिप्पणी आएको हो।

ती सिरियालीहरु लडाकू नियन्त्रित क्षेत्रमा सरकारी र सरकार समर्थक बलहरुको हमलाबाट भागेर त्यहाँ आईपुगेका हुन्।

फ्रान्सका विदेश मन्त्री लराँ फाबियसले पनि अमेरिकाको दोधारे नीतिले समस्या थपेको भन्दै सिरियाबारेको अमेरिकी नीतिको आलोचना गरेका छन्।

फाबियसले अमेरिका धेरै प्रतिबद्ध भएको आभास नपाएको टिप्पणी गरेका छन्।