'सिरियाको मानवीय संकट थप डरलाग्दो बन्दै'

  • 11 फेब्रुअरी 2016
syria तस्वीर कपीराइट AFP
Image caption एलेप्पोमा भड्किएको पछिल्लो हिंसाका कारण मात्रै ५० हजारभन्दा बढी मानिस अन्यत्र गइसकेका छन्

सिरियामा एलेप्पो शहर वरपर जारी लडाइँले त्यहांको मानवीय संकटलाई गम्भीर विनाशतर्फ उन्मुख गराइरहेको सहायता संस्थाहरुले चेतावनी दिएका छन्।

हालैको लडाइँका कारण त्यहांबाट ५० हजार मानिस विस्थापित भइसकेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ।

नाजुक

रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले सिरियाली शहर एलेप्पोमा पानीको आपूर्ति बन्द भएको र मानवीय अवस्था तीव्र रुपमा खस्किरहेको बताएको छ।

जिनीभास्थित उसको मुख्यालयबाट जारी वक्त्व्यमा आइसीआरसीले भनेको छ, एलेप्पोका बासिन्दाहरु अहिले सहायता संस्थाहरुले पानी वितरणको लागि खडा गरेका विन्दुहरुमा भर पर्नुपर्ने अवस्था छ।

पानी तान्ने केन्द्र ध्वस्त भएका छन् जसका कारण दुई सातायता पानीको आपूर्ति बन्द भएको हो।

विद्युत र इन्धनको पनि अभाव हुंदै गइरहेको छ।

सहायता संस्थाहरुले प्रयोग गरिरहेको मार्ग पनि बन्द भएका छन्।

सहायता संस्थाहरुले खासगरी टर्कीको दक्षिणी भेग हुंदै सिरिया प्रवेश गर्न मार्ग प्रयोग गर्दै आएका थिए।

सहायता संस्था मर्सी कोरकी डालिया अल अउकातीले भनिन्,“एलेप्पो शहरमा आपूर्ति गर्न प्रयोग हुने मार्ग लडाइँका कारण उत्तरतिर बन्द भएको छ। त्यसैले सरकारको नियन्त्रणबाहिर रहेका एलेप्पोका भागहरुको सीधा आपूर्ति मार्ग अहिले चालू छैन। एउटा वैकल्पिक मार्ग छ तर त्यो एकदमै खतरायुक्त छ”।

स्वास्थ्य सेवा

परोपकारी संस्था मेडसां स फ्रन्टियरले पूरा एलेप्पोभरि नै स्वास्थ्य सेवा ध्वस्त हुने चेतावनी दिएको छ।

उसले आफूले सहयोग गरिरहेको कम्तीमा तीनवटा अस्पताल हवाइ आक्रमणमा परेको बताएको छ।

लडाइँ र बमबारी तीव्र हुनुअघि नै एलेप्पोको अवस्था खराब थियो।

सहायता संस्थाहरुले त्यहांको मानवीय संकट अहिले त झन् डरलाग्दो विनाशमा रुपान्तरण भइरहेको बताएका छन्।