'आप्रवासी समस्यासंग जुध्न जहाज परिचालन'

  • 11 फेब्रुअरी 2016
तस्वीर कपीराइट EPA

नेटोले इजीएन सागरमा युरोपेली आप्रवासी संकटसंग जुध्न तत्काल तीनवटा युद्धजहाजहरु परिचालन गर्ने बताएको छ।

नेटो महासचिव जेन्स स्टोल्टनबर्गले भनेका छन् त्यस्तो परिचालनको उद्देश्य शरणार्थीहरु सवार डुंगाहरुलाई फिर्ता पठाउनु नभई मानव तस्करी विरुद्ध कार्वाही गर्नु रहेको छ।

नेटो प्रमुख जेन्स स्टोल्टनबर्गका अनुसार टर्कीबाट ग्रीसतर्फ आप्रवासीहरुलाई लैजाने मानव तस्करहरुलाई दुरुत्साहित तुल्याउन नेटोले जहाजहरु परिचालन गर्न लागेको हो।

घोषणा
तस्वीर कपीराइट Reuters

टर्की, जर्मनी र ग्रीसले ब्रसल्समा आयोजीत रक्षा मन्त्रीहरुको बैठकमा अनुरोध गरे अनुसार जहाजहरु परिचालन गर्ने घोषणा भएको छ।

जेन्स स्टोल्टनबर्गले भने, त्यस्तो जहाज परिचालनको कार्यले मानव तस्करी रोक्न आवश्यक जरुरी जानकारी प्राप्त हुनुका साथै निगरीनी पनि गर्न सकिनेछ।

त्यस्तो निर्णयपछि उक्त सुरक्षा गठबन्धनले युरोपको आप्रवासी संकटमा पहिलो पल्ट हस्तक्षेप गर्न लागेको हो।

मानवीय
तस्वीर कपीराइट AFP

संयुक्त राज्य अमेरिकाका रक्षा मन्त्री एश्टन कार्टरले, त्यस अघि बोल्दै, गरीब मानिसहरुलाई दुरुपयोग गरिरहेका आपराधिक गिरोहलाई निशाना बनाउन सकिएमा त्यसको सबैभन्दा ठूलो मानवीय प्रभाव पर्ने बताएका थिए।

जहाज परिचालन गर्ने निर्णय टर्की र ग्रीसलाई हाल भैरहेको भन्दा राम्रो तरीकाले त्यहां जारी मानवीय दु:खान्त घटनालाई व्यवस्थापन गर्न सघाउन लिइएको बताइएको छ।

जर्मनीकी रक्षा मन्त्रीले त्यसरी परिचालन गर्नका लागि लडाकु जहाजहरु उपलब्ध गराउने इच्छा कतिपय नेटो सदस्य राष्ट्रहरुले व्यक्त गरेको बताएकी छिन्।

उनका अनुसार ती जहाजहरुले उद्धार गर्ने आप्रवासीहरुलाई टर्की फर्काइनेछ।