‘छिट्टै राजनीतिक संयन्त्र बनाइने’

  • 12 फेब्रुअरी 2016
तस्वीर कपीराइट .
Image caption नाका खुलेपछि पहिलोपटक कार्यदलस्तरमा दुई पक्षको वार्ता शुरु भएको छ

नाकाअवरोध हटेपछि पहिलोपटक बसेको मुख्य दल तथा आन्दोलनकारी मधेशी मोर्चाको कार्यदलको बैठकमा खासगरी सीमांकनको विवाद सुल्झाउने राजनीतिक संयन्त्र केही दिनभित्रै गठन गर्ने सहमति भएको नेताहरुले बताएका छन्।

उक्त संयन्त्रको वैधानिक हैसियत तथा जिम्मेवारीको प्रष्ट खाकाबारे भने दुई पक्षबीच अझै कुरा मिलेको छैन।

फागुन ७ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी ओलीले त्यसअघिनै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग खासगरी सीमांकनको विषयमा राजनीतिक संयन्त्र निर्माणको सहमति गराइसक्ने इच्छा राखेको बताइएको छ।

अकस्मात

लामो अन्तरालपछि माघ १८ गते बसेको दलहरुको बैठकले कार्यदललाई सक्रिय पार्ने निर्णय गरेको थियो।

तर गत शुक्रबार अकस्मात वीरगञ्ज नाका खुलेपछि कार्यदलको बैठक बस्न सकेको थिएन।

प्रधानमन्त्री केपी ओलीकै अग्रसरतामा बिहीबार दुबै पक्षको कार्यदलको बैठक बस्यो।

जसमा विगतमा विशेषगरी सीमांकनको विषय टुंग्याउन केही समयसहित राजनीतिक संयन्त्र बनाउने विषय मुख्य रुपमा उठेको तराई मधेश सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले बताए।

“जुन संयन्त्र बनाउने कुरा थियो त्यसलाई तीन दिनभित्रै बनाउने गरी कार्यदल अघि बढ्नु पर्छ भन्नेबारे कुरा भएको छ,” उनले भने।

भिन्नता

त्यस्तो संयन्त्रको वैधानिक हैसियत र अधिकार के हुने, अनि उसले कस्तो काम कर्तव्य पाउने भन्ने विषयमा अझै दुई पक्षमा केही भिन्नता छन्।

मोर्चाले सकेसम्म संवैधानिक हैसियतको अनि प्रष्ट गरी मधेशमा दुई प्रदेश सहितको सीमांकन गर्न पाउने अधिकारसहितको संयन्त्र खोजेको छ भने मुख्य दलले त्यसमा अझै सहमति जनाइसकेका छैनन्।

तर पनि छिटो सहमति खोज्न अब लगालग वार्ता गरिने संकेत कार्यदलका सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री भीम रावलले दिए।

केही समय रोकिएको वार्ता फेरि शुरु हुनुमा चाहिं प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण पनि कारक रहेको बताइएको छ।

“सकेसम्म भारत भ्रमण अगावै कम्तीमा राजनीतिक तहको एउटा संयन्त्र निर्माण होओस् र त्यसले कार्यारम्भ गरीसकोस् भन्ने प्रधानमन्त्रीको इच्छा छ। हामी त्यसो भइसक्छ भन्ने आशा र विश्वास गर्छौं,” कानुन मन्त्री अग्नि खरेलले भने।

एकातिर कार्यदलको वार्ता गराएका प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबारे सुझाव लिन सर्वदलीय बैठक पनि डाकेका थिए।

दुई देशको सम्बन्ध बिग्रिएको बेला हुन लागेको आफ्नो भ्रमणमा आन्तरिक चुनौतीहरु व्यवस्थापन गर्नेतर्फ यी बैठक केन्द्रित रहेको विश्लेषकहरु बताउँछन्।