दुई गिर्जाघरका प्रमुखबीच ऐतिहासिक भेटवार्ता

  • 13 फेब्रुअरी 2016
तस्वीर कपीराइट AP

पूर्वी र पश्चिमा ईसाई धर्मबीच ११ औँ शताब्दीमा विभाजन आएयता रोमन क्याथोलिक गिर्जाघरका नेता र रुसी अर्थोडक्स गिर्जाघरका प्रमुखले पहिलोपटक भेटवार्ता गरेका छन्।

क्युबामा भएको वार्तापछि पोप फ्रान्सिसले दुवै पक्षबीच सहज रुपमा कुराकानी भएको र सहकार्य गर्ने बाटो पहिल्याउन सकिने बताए।

रुसी अर्थोडक्स गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले आफूहरुले विश्वव्यापी ईसाई धर्मको रक्षा गर्नका निम्ति सहयोग गर्न चाहेको बताए।

उनले भने, “तपाईंहरुलाई आश्वस्त पार्न मलाई अनुमति दिनुस्, विश्वभर मानवताको रक्षा गर्नका निम्ति दुई गिर्जाघरले सहकार्य गर्न सक्छन् र हामीले मिलेर काम गर्नेछौँ ताकि मानवजीवनलाई विश्वभर सम्मान गर्न सकियोस्।”

सम्बन्ध

प्याट्रिआर्क किरिल, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै निकट मानिन्छन्, जसले उक्त भेटवार्ताको चाँजोपाजो मिलाएका थिए।

उक्त भेटवार्तालाई पूर्वी र पश्चिमा ईसाई गिर्जाघरहरुबीचको सम्बन्ध सुधारका लागि चालिएको महत्वपूर्ण कदम ठानिएको छ किनभने यो एघारौँ शताब्दीयताको पहिलो भेटवार्ता हो।

शताब्दीऔंपछि विश्वका दुई प्रमुख ईसाई नेताहरुले एकअर्कालाई प्रत्यक्ष रुपमा भेट्दा पुरानो साथी भेट्दा जस्तै आत्मीयरुपमा अंकमाल गरेका थिए।

“तपाईंलाई अभिवादन गर्न पाउँदा म प्रसन्न भएको छु,” अर्थोडक्स गिर्जाघरका प्रमुख प्याटिआर्क किरिलले भने।

“अन्तत: भेटघाट भएरै छाड्यो,” पोप फ्रान्सिसले जवाफ दिए।

ऐतिहासिक

साँच्चै नै यो भेटघाट पूर्वी र पश्चिमा ईसाई गिर्जाघरहरु ११ औं शताब्दीमा विभाजन भएपछि पहिलोपटक भएको हो।

दुई नेताहरुले भेटघाट सकिएपछि त्यसलाई इतिहासकै पहिलो भनी उल्लेख गरेका थिए।

जो कोहीले पनि झण्डै एक हजार वर्षको विवादपछि भएको भेटमा छलफल गर्ने धेरै विषयहरु रहेको हुनसक्ने अनुमान लगाउन सक्छन्।

तर पछिल्लो भेटमा दुवै नेताहरुले मध्यपूर्व र उत्तर अफ्रिकामा ईसाईहरुमाथि भईरहेका आक्रमणका विषयमा छलफल गरेका थिए।

केही घण्टाको वार्तापछि दुवै नेताहरुले विश्व नेताहरुलाई ईसाई धर्म संरक्षण गर्न अपील गर्दै एउटा घोषणापत्रमा हस्ताक्षर गरेका थिए।

असाधारण

तस्वीर कपीराइट AP

उनीहरुले आफूबीचको वार्तालाई खुल्ला र सकारात्मक पनि भने।

निकै सांकेतिक महत्वको यो भेटलाई असाधारण ठानिएको छ।

ईसाई कूटनीति र ईसाईका विभिन्न विचारधाराबीच सुदृढ समबन्ध निर्माण गर्न यसको थप महत्व रहने ठम्याइ छ।

मेक्सिको जान लागेका पोप फ्रान्सिसले आफूले एकताको राजधानीका रुपमा टिप्पणी गरेको हवानाको आफ्नो अर्को सफल भ्रमणको समीक्षा गर्ने मौका पाउनेछन्।

क्युबामा ठोस प्रगति भएको देखिएपनि एउटा निक्कै लामो धार्मिक विवादको समाधान गर्न अझ धेरै काम गर्न जरुरी देखिन्छ।