चीन जोड्ने चार सडकको स्तरोन्नति शुरु

  • 13 फेब्रुअरी 2016
तस्वीर कपीराइट Surendra Phuyal

सरकारले उत्तरी छिमेकी चीनसँगको सडक सञ्जाल विस्तारका लागि कामहरु थालिसकिएको बताएको छ।

सम्भावित सात वटामध्ये चार वटा नाका जोड्ने सडकलाई दुई लेनको फराकिलो बनाउने काम शुरु गरिएको सडक विभागले जनाएको हो।

नाका जोड्न बाँकी तीनवटा सडक निर्माणको काम पनि क्रमश: अघि बढ्ने विभागले जनाएको छ।

भारतसँगको प्रमुख व्यापारिक नाका रक्सौल वीरगञ्जबाट आपूर्तिमा अवरोध भएपछि सरकारले चीनसँग थप नाका खुलाउने र सडक सञ्जाल विस्तार गर्ने निर्णय गरेको थियो।

शुरु

सडक विभागले नाका जोड्ने सडकको निर्माणको कामलाई तीन चरणमा बाँडेको बताएको छ।

त्यस अनुसार नाका खोलिएका सडकहरुको स्तरोन्नति गर्ने, ट्रयाक खोल्न बाँकी रहेकाको ट्रयाक खोल्ने र सँगसँगै स्तरोन्नति गर्ने योजना रहेको बताइन्छ।

त्यसबाहेक नाका रहेका तर चीनतर्फ ठूलो व्यापारिक कारोबार नभइसकेका ठाउँका हकमा विस्तारै सडक निर्माण गर्दै जाने उसको योजना रहेको छ।

यो आर्थिक वर्ष देखि नै ती कामहरु शुरु गरिएको सडक विभागका महानिर्देशक माधव कार्कीले बताए।

उनले भने "अब हामी लगातार उत्तरतर्फका सडकको निर्माणमा जुट्छौ, यही आर्थिक वर्षदेखि जति गर्न सक्छौ अगाडि बढदै जान्छौं, केही समय लाग्छ तर उत्तरी नाका जोडने सडक निर्माण गर्नमै लागिरहन्छौँ।"

रसुवागढी जोड्ने सडकका लागि गल्छीदेखि बेत्रावतीसम्म सडक विभागले, बेत्रावतीदेखि स्याफ्रुवेशीसम्म नेपाली सेना र स्याफ्रुवेशी रसुवागढीसम्म चीन सरकारले निर्माण अघि बढाउने तयारीमा रहेको बताइएको छ।

प्राथमिक्ता

संखुवासभाको किमाथाङका नाका जोड्ने सडकको बाँकी ८४ किलोमिटर ट्रयाक खोल्ने काम शुरु गर्न सरकारबाट निर्देशन आइसकेको सडक विभागले बताएको छ।

दोहोरो लेनको उक्त सडकको आफूहरुले अर्को आर्थिक वर्षको अन्त्यसम्म ट्रयाक खोलिसक्ने महानिर्देशक कार्कीले बताए।

मुस्ताङ्गको कोरला नाका जोड्ने सडकमध्ये पोखरादेखि जोमसोमसम्म दुई लेनको कालोपत्रे गर्ने गरी चिनियाँ कम्पनीलाई नक्सा बनाउने जिम्मा दिइसकिएको बताइएको छ।

जोमसोमदेखि कोरला नाकासम्मको १ सय किलोमिटर बाटो दुई लेनको बनाउने र चट्टानी भूभाग भएकाले कालोपत्रे गर्न आवश्यक नपर्ने सडक विभागको भनाई छ।

हाल बन्द रहेको तातोपानी नाका जोड्ने सडकमध्ये काठमाडौंदेखि बाह्रबिसेसम्म नेपाल सरकारले चार लेनको बाटो बनाउने प्रारम्भिक काम भइरहेको छ।

बाह्रबिसेदेखि कोदारीसम्म दुई लेनको बनाउन चीन सरकारसँग आग्रह गरे अनुसार उनीहरुले नक्सा बनाउने काम गरिरहेको बताइएको छ।

यी सबै सडक निर्माणका लागि बजेटको अभाव नरहेको महानिर्देशक कार्कीले बताए।

उनले भने "नेपालको स्रोत पनि धेरै सडक पूर्वाधारमा खर्च गर्छौं भन्ने सरकारको प्रतिवद्धता आएको छ र यसैका लागि सरकारले एउटा उच्चस्तरीय समिति गठन गरेको छ, समितिले सडक निर्माणका लागि हामीलाई अनुमति दिने काम पनि शुरु गरिसकेको छ।"

चीनतीर ठूला व्यापारीक कारोबार भईनसकेका बाँकी तीनवटा नाकामध्ये दोलखा लाप्चे जोड्न बाँकी ४२ किलोमिटर ट्रयाक खोल्ने काम र हिल्सा नाका जोड्नका लागि हुम्लाको सिमिकोटसम्म बाँकी १५ किलोमिटर ट्रयाक खोल्ने काम अझै बाँकी छ।

गोरखाको लार्के नाका जोड्न १ सय किलोमिटरभन्दा बढी ट्र्याक खोल्ने काम पनि अझै शुरु भएको छैन्।