'अफगानिस्तानमा गत वर्ष अहिलेसम्मकै धेरै हताहत'

  • 14 फेब्रुअरी 2016
तस्वीर कपीराइट EPA
Image caption सन् २०१५ मा लडाइँका क्रममा ज्यान गुमाउने बालबालिकाको संख्या १४ प्रतिशतले बढेको छ

संयुक्त राष्ट्रसंघले सन् २०१५ मा अफगानिस्तानमा युद्धका क्रममा मारिने र घाइते हुनेको संख्या अहिलेसम्मकै सबैभन्दा बढी पुगेको जनाएको छ।

अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघको मिसनका अनुसार सन् २०१५ मा हताहत हुनेको संख्या ११ हजार २ पुगेको छ।

त्यो संख्या अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत बढी हो।

मारिने हरेक चारजनामा एकजना बालबालिका छन्।

कारण

राष्ट्रसंघको उक्त प्रतिवेदनले जनसंख्या बढी भएको क्षेत्र र वरपर भएका लडाइँका कारण सर्वसाधारणको हत्या भएको औ‍ंल्याएको छ।

त्यस्तै आत्मघाती बम हमला र अन्य आक्रमणलाई पनि उसले कारण ठानेको छ।

राष्ट्रसंघका मानवअधिकार प्रमुखले त्यस्ता विभत्स र असैद्धान्तिक आक्रमण अन्तर्राष्ट्रिय कानुन अन्तर्गत प्रतिवन्धित रहेको बताएका छन्।

अफगानिस्तानमा भएको राष्ट्रसंघको सहायता मिसनले तयार गरेको प्रतिवेदनमा जीद राद अल हुसेनले भनेका छन्, "यी सबै घटनाहरु पूर्ण रुपमा दण्डहीनतासहित भएका छन्। हिंसामा संलग्न सबै अपराधीहरुलाई कानुनी दायरामा ल्याइनैपर्छ।"

सन् २०११ मा अफगानिस्तानबाट अन्तर्राष्ट्रिय दस्ता फिर्ता भएपछि र सन् २०१४ मा नेटोको प्रतिरोधी मिसनको आधिकारिक समाप्तिसँगै त्यहाँ सर्वसाधारणहरुको हत्या हुने क्रम वर्षैपिच्छे बढिरहेको छ।

अवस्था

अघिल्लो वर्ष त्यहाँ ३ हजार ५ सय ४५ जनाको हत्या भएको थियो भने करिब साढे ७ हजार मानिसहरु घाइते भएका थिए।

सन् २०१४ को तुलनामा सन् २०१५ मा १ सय ५६ कम सर्वसाधारणको हत्या भए पनि त्यहाँ निर्मम तरिकाले घाइते बनाइएकाहरुको संख्या अहिलेसम्मकै सबैभन्दा बढी पुगेको छ।

राष्ट्रसंघले त्यहाँ लडाइँका क्रममा हत्या हुने र घाइते हुनेहरुको रेकर्ड सन् २००९ देखि राख्न थालेको थियो।

सन् २०१५ मा महिलाहरुको हत्या ३७ प्रतिशतले बृद्धि भएको छ।

त्यहाँस्थित मिसनका डेनियल्ले बेलले एउटा प्रतिवेदनमा भनेका छन्, "गएको वर्ष अनाहकमा मारिने र घाइते हुने बालबालिकाहरुको संख्यामा वृद्धि भएको छ।"