मुख्यालय लण्डनमा राख्ने एचएसबीसीको निर्णय

  • 15 फेब्रुअरी 2016
एचएसबीसी
Image caption एचएसबीसीले सन् १८६५ देखि सुदूरपूर्वमा आफ्ना शाखाहरु खोलेको थियो

प्रधान कार्यालय लण्डनमा नै राख्ने एचएसबीसीको पछिल्लो निर्णयबाट लण्डनलाई विश्वको प्रमुख वित्तीय केन्द्र बनाउन बल पुग्ने आशा गरिएको छ।

लण्डनको कडा आर्थिक नियम र ब्रिटेन युरोपेली संघ इयुको सदस्य हुने कि नहुने भन्नेबारे जनमत संग्रह हुनुअघि भएको यो निर्णयलाई महत्वका साथ हेरिएको छ।

हङकङ साङ्घाइ ब्याङ्कीङ् कर्पोरेसन अर्थात् एचएसबीसी सन् १८६५ मा सुदूरपूर्वमा शाखाहरु खोलिएको एक प्रमुख वित्तीय संस्था हो।

ब्रिटेनको आर्थिक नियमहरु र ईयुमा उसको भविष्यबारे विभिन्न अडकलबाजी भइरहदा पछिल्लो निर्णय आएको हो।

‘विश्वासको मत’

अहिले एचएसबीसीको मुख्यालय लण्डनमै राख्ने निर्णयलाई ब्रिटेनको पक्षमा आएको विश्वासको मत मानिएको छ।

एचएसबीसीले एक वक्तव्य भनेको छ, “लण्डनमा विश्वमै सम्मानित नीति नियमहरु र कानुनहरु छन् र लण्डनमै विश्वका उच्च दक्षता भएका प्रतिभाहरु पनि छन्।”

“यस्तो अवस्थामा लण्डन नै एचएसबीसीका लागि महत्वपूर्ण स्थान हुनेछ।”

सन् २०१४ मा ब्रिटेन सरकारले ब्याङ्कहरुबाट असुलेको झण्डै दुई अर्ब पाउण्ड करमध्ये ७५ करोड पाउण्ड कर एचएसबीसीले तिरेको थियो।

बीबीसीका आर्थिक सम्पादका कमाल अहमद भन्छन्, “अहिले चिनियाँ अर्थतन्त्र त्यति सबल नभएकोले पनि एचएसबीसीले आफ्नो मुख्यालय लण्डनमै राख्न चाहेको हुनसक्छ।”