सरकारले वार्ता गर्न नचाहेको मोर्चाको आरोप

  • 15 फेब्रुअरी 2016
Image caption प्रधानमन्त्री केपी ओलीले आउँदो शुक्रबारदेखि भारतको भ्रमण गर्दैछन्

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै मधेशी मोर्चासंग सीमाङ्कनको विषय केही समयमा टुंग्याउन एउटा राजनीतिक संयन्त्र निर्माण गरिने भनिएपनि मुख्य दलहरुले वार्तामा उत्सुकता नदेखाएको मोर्चाले बताएको छ।

सरकारी पक्षले भने अहिलेसम्म कार्यदलको बैठक नबसे पनि भ्रमण अघि नै संयन्त्र बनोस् भन्नेमा प्रधानमन्त्री तत्पर रहेको बताएको छ।

निर्णय

कैयौंपटक बैठक बसे पनि वार्ता सकारात्मक रुपमा अघि बढ्न नसकेपछि पछिल्ला केही साता निस्क्रिय जस्तै बनेको कार्यदलका प्रतिनिधि र प्रमुख तीन दल शुक्रबार एकै ठाउँ आएका थिए।

बैठकले मोर्चाको माग सम्बोधनका निम्ति एउटा राजीतिक संयन्त्र बनाउन कार्यदलले छिट्टै कार्यक्षेत्र र काम कर्तव्य तय गर्ने निर्णय गरेको थियो।

तर सोमबार बित्न लाग्दासमेत कुनै खबर नआएको मोर्चा आबद्ध तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले बताए।

उनले भने, "अब ३/४ दिन बित्न लाग्यो, अहिलेसम्म औपचारिक रुपले कुनै नेताले अथवा कार्यदलका सदस्यले हामी मोर्चाका नेतालाई बोलाएका छैनन्। हामीहरु निराश भइरहेका छौं। भारत भ्रमण भन्दा अघि उहाँहरु निकास दिन चाहनुहुन्न।"

प्रयास

मोर्चाका नेताले यस्तो निराशा व्यक्त गरिरहँदा कार्यदलकै सदस्यहरुले भने कांग्रेस महाधिवेशनका कारण सबै जुट्न गाह्रो भइरहेको, तर अनौपचारिक रुपमा छलफलको प्रयास भइरहेको बताएका छन्।

सरकारी पक्षले भने मोर्चाको माग विषयवस्तुमा केन्द्रित भएकोले तत्कालै सहमति गर्न जटिल भएको तर प्रधानमन्त्रीको भारत भ्रमण अघि नै संयन्त्र बनाउने प्रयास जारी रहेको बताएको छ।

कानुन मन्त्री अग्नि खरेलले भने, "सकेसम्म भ्याउने कोशिस हुन्छ, तर अब विषयवस्तुहरुसँग गाँसिएको हुनाले ठ्याक्कै हात नलाग्न पनि सक्छ। तर संयन्त्र बन्ने एउटा उपयुक्त स्थिति बनिदिए हुन्थ्यो भन्ने प्रधानमन्त्रीको इच्छा हो र उहाँ त्यसैको निम्ति तत्पर हुनुहुन्छ।"

तर पटक-पटक बसेका कार्यदलका बैठकले समेत टुंगो लगाउन नसकेको संयन्त्रको विषयलाई अबको केही दिनमै हुन लागेको प्रधानमन्त्रीको भारत भ्रमणअघि नै टुंगो लगाउने सम्भावना कम रहेको कतिपय विश्लेषकहरुको भनाइ छ।