न्यायाधीश मनोनयन गर्ने ओबामाको अडान

  • 17 फेब्रुअरी 2016
तस्वीर कपीराइट AP

अमेरिकी राष्ट्रपति बराक ओबामाले संवैधानिक व्यवस्था अनुसार सर्वोच्च अदालतमा एकजना नयाँ न्यायाधीश मनोनयन गर्ने अडान लिएका छन्।

उनले शनिबार निधन भएका न्यायाधीश एन्टोनिन स्कालियाको स्थानमा आफूले नयाँ नाम मनोनयन गर्ने बताए।

ओबामाले न्यायाधीश मनोनयन गरिसकेपछि आफूले गर्नुपर्ने काम गर्न सिनेटहरुलाई आग्रह गरे।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले मनोनयन गरेपछि अनुमोदन गर्ने वा नगर्ने अधिकार सिनेटमा हुन्छ।

मानसिकता

ओबामाले भने, “मलाई आशा छ उहाँहरुले आफूले गर्नुपर्ने काम गर्नुहुनेछ।”

उनले वासिङ्टनमा रहेका आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई आफूले विद्यमान व्यवस्थालाई ठप्प पार्न लागेको मानसिकता त्याग्न आग्रह समेत गरे।

घृणा र तिक्तताबाट माथि उठेर काम गर्ने अहिले उपयुक्त समय रहेको उनले टिप्पणी गरे।

ओबामाले भने, “मैले समयभित्रै निकै सक्षम उम्मेदवार मनोनयन गर्न खोजेको छु, यदि हामीले सामान्य नजिरहरु पछ्याइरहेका छौँ भने ती मनोनित नाम समितिसमक्ष पेस गरिनेछ, मतदान हुनेछ र अन्त्यमा अनुमोदन हुनेछ।”

चेतावनी

तस्वीर कपीराइट Getty

अमेरिकी सर्वोच्च अदालतमा सबैभन्दा लामो कार्यकाल बिताएका रुढिवादी न्यायाधीश स्कालियाको गत शनिबार निधन भएको थियो।

सिनेटमा बहुमतसहित रहेका रिपब्लिकन नेताहरुले नयाँ राष्ट्रपति निर्वाचित नहुञ्जेल न्यायाधीश मनोनयनको अनुमोदनमा आफूहरुले ढिलाई गर्ने चेतावनी दिएका छन्।

उनीहरुले उपयुक्त न्यायाधीश मनोनयन गर्ने अधिकार नयाँ राष्ट्रपतिलाई छाड्नुपर्ने तर्क गरेका छन्।

न्यायाधीश स्कालियाको निधनसँगै अहिले चारजना रिपब्लिकन र चारजना डेमोक्रेटको तर्फबाट मनोनित न्यायाधीशसहित अमेरिकी सर्वोच्च अदालत सन्तुलनको अवस्थामा छ।

यसकारण नयाँ नियुक्तिसँगै या त उदारवाद या रुढिवादतर्फ झुकाव हुनेछ।