अंकारा कार बम हमलामा २८को मृत्यु

  • 18 फेब्रुअरी 2016
अंकारा विष्फोटन तस्वीर कपीराइट EPA
Image caption अंकारामा भएको आक्रमणको अन्तर्राष्ट्रिय रुपमा निन्दा हुने क्रम शुरु भएको छ

टर्कीको राजधानी अंकारामा भएको कार बम विष्फोनपछि राष्ट्रपतिले आफ्नो विदेश भ्रमण स्थगित गर्दै आक्रमणमा संलग्न समुहविरुद्ध लड्ने बताएका छन्।

अंकाराको संसद नजिकै भएको आक्रमणमा कम्तिमा २८ जनाको ज्यान गएको र ६० जना भन्दा बढी घाइते भएको बताइएको छ।

अधिकारीहरु भन्छन् संसद भवन र सैन्य मुख्यालय नजिकैको सडकको ट्राफिक बत्ती छेउमा सेनाका बसहरु रोकिएलगत्तै सो बम विष्फोट भएको थियो।

आफ्नो विदेश यात्रा स्थगित गर्दै राष्ट्रपति रेजेप तायिप एर्दोगानले उनकै शब्दमा यस्ता आक्रमण गर्ने गोटीहरु र ती पछाडीका शक्तिविरुद्ध लडाईं जारी रहने प्रतिज्ञा गरेका छन्।

'उपचार'

आक्रमणपछि टर्कीका उपप्रधानमन्त्रीले भने, "हमलामा सेना र गैरसैनिक दुबै थरि मानिसहरु मारिएको हामीले बुझेका छौं। ६१ जना घाइते छन् र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।"

एक सुरक्षा सुत्रले आक्रमणको प्रारम्भिक दोष पीकेके भनिने प्रतिवन्धित टर्केली कुर्दिश पृथकतावादी आन्दोलनमाथि लगाएको छ।

लगत्तै स्वीडेनको स्टकहोल्ममा पनि टर्केली सांस्कृतिक केन्द्र रहेको भवनमा विष्फोटन हुँदा सो भवन नराम्ररी क्षतिग्रस्त भएको स्वीडेनी प्रहरीले जनाएको छ।

सो घटनामा कोहि पनि घाइते भएनन्।