ओलीलाई भारतीय विदेशमन्त्रीद्वारा स्वागत

  • 19 फेब्रुअरी 2016
तस्वीर कपीराइट bbc
Image caption प्रधानमन्त्री ओलीले शनिबार नै भारतका राष्ट्रपति, प्रधानमन्त्रीसहितको टोलीलाई भेट्नेछन्

भारतको राजकीय भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री केपी ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेकी छन्।

६ दिने भ्रमणका क्रममा दिल्ली पुगेका ओलीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्ने कार्यक्रम छ।

दुई छिमेकीबीचको सम्बन्ध विग्रिएका बेला भएको उक्त भ्रमणलाई नेपाल तथा भारतमा निकै चासोका साथ हेरिएको छ।

महत्व

सामान्यतया राज्यमन्त्रीको स्तरमा विमानस्थलमा स्वागत गर्ने पठाउने भारतीय चलनका माझ प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विदेशमन्त्री स्वराज स्वयं आउनुलाई कतिपयले भारतले भ्रमणलाई उच्च महत्व दिन खोजेको रुपमा अर्थ्याएका छन्।

विमानस्थलमा शिष्टाचार स्वागत पश्चात उनलाई राजकीय पाहुनाका हैसियतमा राष्ट्रपति भवनमा सत्कारको व्यवस्था गरिएको छ।

शुक्रबार उनको अन्य द्विपक्षीय भेटघाटका कार्यक्रम त छैनन् तर उनले दिल्लीस्थित नेपाली दूतावासमा प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिंदैछन्।

गत असोजमा नयाँ संविधान जारी भएपछि भारतले दर्शाएको चर्को असन्तुष्टी र लगत्तै भारतसंगको सीमा नाकामा अवरोध भएपछि दुई देशबीचको सम्बन्ध इतिहासमै सर्वाधिक विग्रिएको भनी टिकाटिप्पणी गरिए।

तर अहिले चार महिनापश्चात भारतले प्रधानमन्त्री ओलीलाई दिल्लीमा राजकीय भ्रमणमा डाक्नु अनि त्यसअघि नै नाका अवरोधको स्थिति हट्नु र अहिले दिल्लीमा देखिएको स्वागतलाई कतिपय विश्लेषकहरुले सम्बन्ध सुधारका प्रयास भनेका छन्।

ओली स्वयंले समेत भ्रमण अघि संसदलाई सम्बोधन गर्दै आफुले दुई देशको सम्बन्धमा बाँकी असमझदारी पूरै अन्त्य गर्न चाहेको बताएका थिए।

आशा

यति हुँदा हुँदै पनि भ्रमणका बेला दुई पक्षबीच विभिन्न मुद्दामा केन्द्रित छलफल हुने कार्यक्रम समेत छ।

जसबारे भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले विहीबार सञ्चारकर्मीलाई जानकारी दिंदै भनेका थिए, "भ्रमणका बेला दुई पक्षीय चासोका सबै विषय तथा द्विपक्षीय सहयोगका क्षेत्र खासगरी उर्जा कनेक्टिभिटी र जनस्तरको सम्बन्धबारे कुराकानी हुने हाम्रो आशा छ।"

शुक्रबार साँझ दिल्ली पुगेका प्रधानमन्त्री ओलीको मुख्य कामकाजी दिन शनिबारबाट हुनेछ।

शनिबार उनलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पहिले भेट्नेछिन्।

जसपश्चात भारतीय प्रधानमन्त्री मोदीसंग उनको भेटवार्ता हुने छ।

त्यसपछि दुवै पक्षका प्रतिनिधिमण्डलस्तरमा वार्ता हुनेछ र केही समझदारी हुनेछन्।

शनिबार नै उनलाई भारतीय गृहमन्त्री राजनाथ सिंह तथा वित्त मन्त्री अरुण जेट्लीले भेट्नेछन् र साँझ भारतका राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीले भेट्नेछन्।