‘नेपालमा संविधान आउनु महत्वपूर्ण उपलब्धि’

  • 20 फेब्रुअरी 2016
तस्वीर कपीराइट PIB

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लामो संघर्षपछि नेपालले नयाँ संविधान पाउनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको क्रममा संयुक्त पत्रकार सम्मेलनलाई संबोधन गर्दै मोदीले भने, “दशकौंको संघर्षपछि नेपालमा संविधान लेखन र त्यसको घोषणा हुनु एउटा महत्वपूर्ण उपलब्धि हो।”

यसअघि भारतले नेपालमा संविधान जारी भएको कुरा आफ्नो ‘जानकारी’मा आएको प्रतिक्रिया जनाएको थियो।

मोदीले संविधान निर्माणमा नेपाल सरकार र राजनीतिक नेतृत्व तथा समाजका सबै वर्गले पुर्याएको योगदानको आफूले स्वागत गर्न चाहेको बताए।

निर्भर

उनले भने, “तर यस [संविधान] को सफलता सहमति र संवादमा निर्भर गर्दछ।”

मोदीले पछिल्ला केही वर्षमा नेपालले लोकतन्त्र र संवादमार्फत महत्वपूर्ण उपलब्धि हासिल गरेको विश्वले स्वीकारेको टिप्पणी गरे।

उनले राजनीतिक संवादमार्फत सबै वर्गलाई संगै लिएर संविधानसँग जोडिएका मुद्दाको सन्तोषजनक संबोधन गरी नेपाल प्रगतिको मार्गमा अघि बढ्नेमा आफू आशावादी रहेको बताए।

तस्वीर कपीराइट MEA INDIA

नेपालको शान्ति, स्थिरता र आर्थिक विकास दुई मुलुकको साझा उद्देश्य भएको उनले उल्लेख गरे।

असमझदारी

संयुक्त पत्रकार सम्मेलनलाई संबोधन गर्दै नेपालका प्रधानमन्त्री ओली आफ्नो भ्रमणले दुई मुलुकबीच पछिल्लो समय देखिएको असमझदारी हट्ने विश्वास व्यक्त गरे।

यसैबीच, भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई प्रधानमन्त्रीबीच ९ वटा समझदारी भएको जनाएका छन्।

त्यसमा भूकम्प प्रभावित क्षेत्रमा २५ करोड डलर अनुदान उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र, तराईमा सडक निर्माणसम्बन्धी सम्झौता, काकडभिट्टा हुँदै बंग्लादेशमा पारवाहन उपलब्ध गराउनुसम्बन्धी सम्झदारीपत्रको आदानप्रदान भएको थियो।

तस्वीर कपीराइट MEA

दुवै प्रधानमन्त्रीले ढल्केबर-मुज्जफरपुर अन्तरदेशीय विद्युत प्रसारण लाइनको बटन थिचेर त्यसलाई सञ्चालनमा ल्याएका थिए।

हाल ८० मेगावट बिजुली उक्त प्रसारण लाइनमार्फत नेपालले ल्याउने र सन् २०१६ को अक्टोबरसम्ममा त्यसको क्षमता २०० मेगावाट पुर्याउने एवम् सन् २०१७ को डिसेम्बरसम्ममा ६०० मेगावाट खरिद गर्ने जनाइएको छ।