भारतबाट आजदेखि थप ८० मेगावाट बिजुली

  • 20 फेब्रुअरी 2016
तस्वीर कपीराइट Reuters

नेपालले लोडशेडिङको चर्को मार झेलिरहेका दक्षिणी छिमेकी भारतबाट आयातित थप ८० मेगावाट बिजुली आजदेखि औपचारिक रुपमा राष्ट्रिय प्रशारणलाइनमा जोडिंदैछ।

नेपाल र भारतबीचको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रशारणलाइनबाट बिजुली थप गर्न लागिएको हो।

दुवै देशका प्रधानमन्त्रीहरुले नयाँ दिल्लीमा संयुक्त रुपमा रिमोट कन्ट्रोलबाट त्यसको प्रारम्भ गर्ने कार्यक्रम छ।

४ सय किलोभोल्ट क्षमताको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट नेपालको राष्ट्रिय प्रशारणलाइनमा थप बिजुली आयात हुन लागेको हो।

परीक्षण

अधिकारीहरुका अनुसार थप विद्युत आपूर्तिको एक सातादेखि परीक्षण भईरहेको थियो।

भारतबाट यसअघि अयात भईरहेको २३५ मेगावाटकै दरमा थप बिजुली आयात गर्न लागिएको अधिकारीहरुले बताएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले त्यसबारे भने, “दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा हैदराबाद हाउस दिल्ली रिमोटबाट आरम्भ गर्ने हो, यसले नेपालको ऊर्जा संकटमा केही हदसम्म राहत मिल्नेछ।”

नेपाल र भारतको संयुक्त लगानी रहेको उक्त योजनाको क्षमता १,००० मेगावाटभन्दा बढी रहेको अधिकारीहरु बताउँछन।

तस्वीर कपीराइट AP

ढल्केबरदेखि भारतीय सीमा भिठ्ठामोडसम्म ४२ किलोमिटरको लागत डेढ अर्ब रुपैयाँ र भारतको भिठ्ठामोडदेखि मुजफफरपुरसम्म साढे ४६ किलोमिटरको लागत ४ अर्ब रुपैयाँ रहेको अधिकारीहरुले जनाएका छन्।

आपूर्ति

४ सय किलोभोल्ट क्षमता भएपनि हाल १३२ किलोभोल्टमा मात्र चार्ज भएको बताइएको छ।

एकजना भारतीय अधिकारी पीएन प्रसादले भने, “यो लाइन जुन हाम्रो हो त्यो ४०० केभी डबल सर्किटको हो, अहिले १३२ अर्थात सबैभन्दा कम भोल्टेजमा चार्ज भएको छ, विस्तारै यसलाई ४०० मेगावाट बनाइनेछ।”

नेपालमा हाल भईरहेको विद्युत उत्पादनकै हाराहारीमा भारतबाट पनि अयात हुन थालेको छ।

नेपालको कुल विद्युत माग १,४०० मेगावाट रहेकोमा अब आधाजति भारतबाट आपूर्ति हुने भएको छ।

विद्युत आपूर्ति बढेपनि लोडशेडिङ कम हुने वा नहुने कुराको एक सातामा टुंगो लाग्ने प्राविधिकहरुले बताएका छन्।