‘भारतसँगको सम्झौता व्यापारका लागि महत्वपूर्ण’

  • 21 फेब्रुअरी 2016
तस्वीर कपीराइट Reuters

पारवहनका लागि अतिरिक्त बन्दरगाह उपलब्ध गराउने गरी भारतसँगको सम्झौता नेपालको व्यापारका लागि महत्वपूर्ण साबित हुने अधिकारीहरुले बताएका छन्।

नयाँ सम्झौता अनुसार विशाखापटनम बन्दरगाह, दुईवटा रेलमार्ग र चारवटा सडकमार्गले नेपाल जोडिने छ।

अहिलेसम्म कोलकता बन्दरगाह एकमात्र विकल्प रहेकोमा अब तेस्रो देशबाट आयात गरिने सामान ती बन्दरगाहबाट नेपाल भित्र्याउन सकिने छ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा भएका दुईपक्षीय सम्झौतामा उल्लेखित बुँदामध्ये केही पारवहनलाई सहज पार्नेमा केन्द्रित छन्।

उपलब्धिपूर्ण

जसमध्ये नयाँ बन्दरगाहका रुपमा विशाखापटनम नेपालले प्रयोग गर्न पाउने छ।

जुन बन्दरगाहलाई वीरगञ्ज र विराटनगर नाकासँग रेल र सडक तथा भैरहवा र नेपालगञ्जसँग सडकमार्गले जोड्ने छन्।

हालसम्म सानो बन्दरगाह कोलकता उपयोग गर्दै आएको नेपालमा सामान भित्र्याउन सम्झौता निकै उपलब्धिपूर्ण साबित हुने सम्झौतामा हस्ताक्षर गरेका वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायबताउँछन्।

उनले भने, “अहिलेसम्म एउटामात्र बन्दरगाह प्रयोग गर्नुपर्थ्यो, अब दुईवटा भए, सामान ढुवानी गर्ने मार्ग पनि थपिए, यसले नेपालको व्यापारको विविधता र विकासका लागि ठूलो योगदान पुर्याउने छ।”

झन्झटिलो

तस्वीर कपीराइट Reuters

बांग्लादेशसँगको कारोबारोका लागि पनि थप मार्ग खोल्ने गरी सम्झौता गरिएको छ।

रोहनपुर-सिंहबाद अतिरिक्त मार्ग खोल्ने यो सम्झौतासँगै हाल बांग्लादेशसम्म व्यापार गर्दा भारतीय भूमिमा सामना गर्नुपर्ने झन्झटिलो प्रक्रिया हट्ने सचिव उपाध्यायले बताए।

उनले भने, “अब नाकामा अवरोध झेल्नुपर्दैन, सिल गरिएका कन्टेनरहरु भन्सारले जाँच गरेपछि सिधै बांग्लादेशको बांग्लाबन्ध बन्दरगाहमा पुग्छन्।”

पारवहन भएका यी सम्झौता कार्यान्वयनमा आएमा अहिले कोलकता बन्दरगाहमा पानीको मात्रा कम हुँदा ढुवानीमा भोग्नुपर्ने समस्याको समेत समाधान हुने व्यवसायीहरुको भनाई छ।