पुन: संविधान संशोधन गर्न तयार: प्रधानमन्त्री

  • 21 फेब्रुअरी 2016
तस्वीर कपीराइट PIB
Image caption भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले त्यहाँका प्रधानमन्त्रीसँगको एक्ला-एक्लै वार्ताबारे केही खुलाएनन्

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बाँकी असन्तुष्टि सम्बोधन गर्ने बताएका छन्।

दिल्लीस्थिति नेपाल राजदूतावासमा प्रवासी नेपालीहरुको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, "संविधानमा पहिलो संशोधन गरेका छौं, अरु प्रयासहरु पनि गरिरहेका छौं, असन्तुष्टि कहीं देखियो भने कुराकानीका माध्यमबाट जायज कुरा तत्काल सम्बोधन गर्छौं।"

त्यसको निम्ति संविधान संशोधन गर्न सरकार र संसद खुला रहेको समेत उनको भनाई छ।

जवाफ!

तर उक्त भनाई संविधानका कतिपय प्रावधानलाई लिएर प्रश्न उठाउनेहरुलाई चुनौतिपूर्ण जवाफ दिए जस्तो सुनिन्थ्यो।

प्रवासीहरुको कार्यक्रम अघि त्यही आयोजित पत्रकार सम्मेलनमा उनले भने, “यदि संविधानमा कुनै प्रावधान र धारामा कुनै धर्म, जात, भाषा, क्षेत्र वा भूगोलका आधारमा विभेद रहेको कसैले देखाउँछ भने हामी संविधान संशोधन गर्न सधैं खुला छौं, त्यो गर्नेर्छौं।”

आन्दोलनरत मधेसी मोर्चाको असन्तुष्टि त कायमै छ, भारतीय विदेश सचिवले समेत दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्ता भएकै दिन संविधानसँग सम्बन्धित 'केहि मुद्दा' सम्बोधन हुन बाँकी रहेको धारणा व्यक्त गरेको समाचार आएका थिए।

लगत्तै प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा उनले भने, "समावेशी र समानुपातिक सहभागिता, पिछडिएको वर्गलाई अगाडि बढाउन गरिएका प्रबन्ध र लोकतान्त्रिक मूल्य-मान्यताका सवालमा तपाईहरुले ढुक्कले भन्नु भए हुन्छ, नेपालको संविधान पछाडि छैन, एक कदम अगाडि नै छ।"

नाकाबन्दी किन?

तस्वीर कपीराइट MEA
Image caption प्रधानमन्त्रीलाई राजकीय भ्रमणमा निम्त्याएर भारतले सहमतिमा पुन: जोड दिएको छ

संविधानलाई लिएर छिमेकी भारत र मधेशी मोर्चाको असन्तुष्टिका माझ सीमानाका अवरोधले जनजीवन अस्तव्यस्त हुन पुगेको थियो।

मोर्चाका नेता महन्थ ठाकुरले फेरी नाकाबन्दी गर्ने चेतावनी दिएको समाचार आएका छन्।

तर दिल्लीबाट प्रधानमन्त्री ओलीले भने, “यदी कसैले अर्को नाकाबन्दीको कुरा गरिरहेको छ भने हामी जानेछौं र सोध्ने छौं, किन साथीहरु फेरी असन्तुष्ट? त्यस्तो कुनै कदमको खाँचो छैन। किन कि हामी उनीहरुलाई सुन्न तयार छौं। र, यदि कुनै उचित सरोकार छन् भने सम्बोधन गर्न तयार छौं।”

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीलाई नेपालले चीनसँग सम्झौताका निम्ति अघि बढाएको भनिएका कदम अब के हुन्छन्? भन्ने प्रश्न पनि सोधिएको थियो।

तर आफूले कुनै 'कार्ड' खेल्न नजानेको भनि काठमाण्डूमा दिएको जवाफ सुनाएर उनी उम्किए।

प्रधानमन्त्री मोदीसँगको एक्ला-एक्लै भेटबारेको जिज्ञासामा पनि उनले त्यसलाई एक्ला-एक्लै बैठकमा सीमित रहन दिन आग्रह गर्दै केही खुलाएनन्।