शनिबारदेखि युद्धविराम कार्यान्वयन गराइने

  • 23 फेब्रुअरी 2016
तस्वीर कपीराइट Getty

सिरियामा शनिबारदेखि युद्धविराम सम्झौता कार्यान्वयन गराउन अमेरिका र रुस फेरि सहमत भएका छन्।

अमेरिकी राष्ट्रपति बराक ओबामा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोन वार्तामार्फत पछिल्लो सहमति गरेका हुन्।

सिरियाली सरकार र विपक्षी समूहहरुले पाँच दिनभित्र युद्धविराम सम्झौताका शर्तहरु स्वीकार गर्नुपर्नेछ, जसअनुसार उनीहरुले आक्रमण रोक्नुपर्ने र मानवीय सहायताका निम्ति पूर्णरुपमा पहुँच दिनुपर्नेछ।

सिरियाका लागि राष्ट्रसंघका विशेषदूत स्टाफान ड मिस्तुराले युद्धविराम कार्यान्वयन हुने सुनिश्चित गर्नु मुख्य चुनौती भएको बताएका छन्।

सुनिश्चित

उनले भने, “हामी यो तथ्यबाट निकै प्रोत्साहित भएका छौँ कि अरु पक्षबाट पनि सम्झौताको पालना हुने सुनिश्चित गर्नका निम्ति दुई मुख्य पक्ष रुस र अमेरिका यस किसिमको सहमतिका साथ आएका छन्, अब यो आधारक्षेत्रमा पालना गरिएको हामीले सुनिश्चित गर्न आवश्यक छ।”

युद्धविराम घोषणाले इस्लामिक स्टेट समूह र अल नुस्रा फ्रन्टलाई चाहिँ समेटेको छैन।

ती दुवै समूह संयुक्त राष्ट्रसंघको आतंकवादी संगठनहरुको सूचीमा छन्।

सिरियाका मुख्य विपक्षीहरुको उच्च वार्ता समितिले चाहिँ सरकार र उसका साझेदारहरुले घेराबन्दी अन्त्य, कैदी रिहाई र बमबारी रोक्ने वा नरोक्ने कुरामा युद्धविराम सम्झौतामा आफ्नो संलग्नता निर्भर गर्ने बताएको छ।

युद्धविराम गराउने पहिलो सहमति यसै महिनाको शुरुतिर म्युनिखमा भएको थियो तर सिरियाली सरकारले रुसी सहयोगमा मुलुकको उत्तरी क्षेत्रमा एउटा ठूलो आक्रमण गरेपछि युद्धविराम सम्झौता अलपत्र पर्यो।

निर्वाचन

तस्वीर कपीराइट AFP

उसले इस्लामिक स्टेट समूहका लडाकुविरुद्ध कारवाही गरेको बताएपनि विपक्षी समूहलाई पनि निशाना बनाइरहेको थियो।

रुसी राष्ट्रपति पुटिनले अहिले चाहिँ दमास्कसले युद्धविराम सम्झौताको पालना गरेको सुनिश्चित गर्न आफूले आवश्यक सबै गर्ने बताएका छन्।

यद्यपि इस्लामिक स्टेट समूह र कहिलेकाही विपक्षीसँग मिलेर सरकारी फौजविरुद्ध आक्रमण गर्ने गरेको अल कायदा सम्बद्ध अल नुस्रा फ्रन्टविरुद्ध कारवाही जारी रहने भएकोले स्थिति जटिल नै देखिन्छ।

ह्वाइट हाउसका एकजना प्रवक्ताले युद्धविराम एउटा अवसर र कठिन कार्य गर्ने क्षण भएको बताएका छन्।

युद्धविरामसम्बन्धी घोषणा लगत्तै सिरियाली राष्ट्रपति बशर अल असादले आगामी एप्रिलमा संसदीय निर्वाचन गराइने घोषणा गरेको छ।