सत्ता र विपक्षीद्वारा युद्धविरामका शर्त स्वीकार

  • 23 फेब्रुअरी 2016
तस्वीर कपीराइट AFP
Image caption सिरिया युद्धमा करिब ५ वर्षमा अहिलेसम्म २ लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ

सिरियाको सरकार र त्यहाँको प्रमुख प्रतिपक्षी गठबन्धनले भनेका छन्, उनीहरुले सिरियामा शनिबारबाट लागू हुने गरी गरिएको युद्धविरामका शर्तहरु उनीहरुले स्वीकार गरेका छन्।

सरकारले रुस र अमेरिकाले घोषणा गरेको योजना अनुसार सैन्य कारबाहीलाई रोक्ने बताएको छ।

तर विपक्षीले भनेको छ, युद्धविराममाथीको उसको समर्थन सरकारी फौजको घेराबन्दी अन्त्य र सर्वसाधारणमाथिको हवाइ हमला रोकिनुमा निर्भर हुनेछ।

चुनौतीपूर्ण

उक्त सम्झौता सिरियाका दुई मुख्य जिहादी संगठन इस्लामिक स्टेट र प्रतिद्वन्दी अल नुस्रा फ्रन्टका लागि लागू हुनेछैन।

अल नुस्रा अलकायदासंग सम्बन्धीत छ र उसले मुख्य विद्रोही गठबन्धनको ठूल्लो हिस्सा ओगटेको छ।

संयुक्त राष्ट्रसंघले रुस र अमेरिकाको युद्धविरामको योजना कार्यन्वयनमा लैजँदा चुनौतीपूर्ण हुने स्वीकार गरेको छ।

राष्ट्रपति बसर अल असदका समर्थक, विपक्षी र विद्रोही समूह इस्लामिक स्टेटबीच युद्ध चल्दा त्यहाँका करिब १ करोड १० लाख मानिसहरु घर छोडेर भाग्न बाध्य भएका थिए।

रुस र अमेरिकाले सोमबार घोषणा गरेको सम्झौताका शर्तहरु अनुसार सिरिया सरकार र विपक्षीहरुले युद्धविराम गर्न स्वीकार गर्छन् कि गर्देनन् भनेर शुक्रबार अपरान्हसम्ममा बताइसक्नुपर्नेछ।

प्रतिबद्धता

मुख्य विपक्षी र लडाकु गुटहरुको प्रतिनिधित्व गर्ने द हाइ नेगोसिएसन कमिटीले साउदी अरेबियामा बैठक गरेपछि एउटा विज्ञप्ती जारी गर्दै सिरियाको रक्तपात अन्त्य गर्नका लागि अन्तर्राष्ट्रिय प्रयत्नलाई सफल पार्ने प्रतिबद्धता जनाएको छ।

तर उसले सरकार र उसका साझेदारहरुले जारी राखेको घेराबन्दीको अन्त्य, बन्दीहरुको रिहाइ र बमबारी रोक्ने या नरोक्ने कुरामा युद्धविराम सम्झौतामा आफ्नो संलग्नता निर्भर गर्ने चेतावनी दिएको छ।

वार्ता टोलीका संयोजक रियाद हिजबले भनेका छन्, उनले राष्ट्रपति असद वा उनको गठबन्धनले युद्ध विराम गर्ने अपेक्षा राखेका छैनन् किनभने असदको सत्ता हत्या, जबरजस्ती विस्थापन र दमनको अभियानको निरन्तरतामै निर्भर छ।

मंगलबार सिरिया सरकारले अल नुस्रा फ्रन्ट, इस्लामिक स्टेट र अलकायदासँग सम्बन्धीत अन्य संगठनहरुविरुद्धको आतंकवादबिरुद्धको कारवाहीलाई निरन्तरता दिने शर्तमा अन्य फौजी कारवाही रोक्न आफू तयार रहेको बताएको थियो।

सरकारले भनेको छ, उसले युद्धबिराम लागु हुने सैन्य समूह र क्षेत्रको पहिचान गर्न रुससँग मिलेर काम गर्ने जनाएको छ।